जनार्जन खत्री
सर्लाही, फागुन २० गते। सर्लाहीका माझी समुदायले आफ्नो महान् पर्व लदी पूजा (कोशी पूजा) मङ्गलबार मनाएका छन्। सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको साइली मङ्गलबार अर्थात् तेस्रो मङ्गलबार लदी पूजा पर्व मनाउने गरेका छन्। सर्लाहीका पाँच पालिकाका विभिन्न बस्तीमा बसोवास गर्ने माझी समुदायले मङ्गलबार दिनभर आफूलाई नजिक पर्ने जलाशयमा पुुगेर परम्परागत लदी पूजा गरेका नेपाल माझी उत्थान सङ्घ सर्लाहीका उपाध्यक्ष राजकुमार कुस्वारले जानकारी दिनुभयो।
उहाँका अनुसार लदी पूजामा जलाशयमा गएर राँगा, सुँगुर, पाठी, कुखुरा र परेवाको पञ्चवली चढाउने परम्परा रहेको छ। यस्तै ढुङ्गाको देवता, बास र सिमली गाडेर डुुङ्गा, माछा मार्ने जाल र फुरुङ्गोको समेत पूजा गर्ने प्रचलन रहेको माझी समुदायका अगुवाले बताएका छन्।
माझी समुदायको पुस्तौँदेखि गर्दै आएको पेशा डुङ्गा तार्दा तथा माछा मार्दा कुनै किसिमको बाधा र मानवीय क्षति नहोस् भन्ने कामना गर्दै लदी पूजा गर्ने चलन छ। सर्लाहीमा लखन्देही, बागमती, एकादशीलगायतका खोलामा जम्मा भएर माझी समुुदायले लदी पूजा पर्व मनाएका छन्।
लालबन्दी नगरपालिका १२ जियाजोर क्षेत्रका माझी समुदाय लखन्देही खोलामा भेला भएर सामूहिक रुपमा लदी पूजा गरेको स्थानीय मानवीर माझीले जानकारी दिनुभयो। जियाजोरका माझी समुदायले आफ्नो जातीय पहिरनमा सझिएर पत्थरकोटस्थित लखन्देही खोलामा लदी पूजा गरेका हुन्।
मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा नेपाल माझी उत्थान संघ लालबन्दी १२ र १३ को वडा कमिटीले लखन्देही खोला किनारमा लदी पूजा मनाएको हो। सर्लाहीमा लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती र बथहथवा नगरपालिकामा सीमान्तकृत माझी समुदायको बसोवास रहेको छ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार सर्लाहीमा नौ हजार ३७३ जना माझी समुदायको जनसङ्ख्या रहेको छ। लदी पूजाको पूर्वसन्ध्यामा सोमबार सर्लाहीको पाँचवटै पालिकामा बसोवास गर्ने माझी समुदायले लालबन्दीमा भेला भएर आफ्नो भेषभुुषा र सँस्कृति झल्कने झाँकीसहित कृषि विकास बैङ्कको चौरमा शुभकामना आदानप्रदान, साँस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न गरेका थिए।
लदी पूजाकै अवसरमा लालबन्दी नगरपालिका कार्यालयले मङ्गलबार नगरपालिका र मातहतका कार्यालयमा कार्यरत माझी समुदायका कर्मचारीलाई एक दिन बिदा प्रदान गरेको नगरप्रमुख वासुदेव अधिकारीले बताउनुभयो।