वासिङ्टन, फागुन २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गर्नुभएको छ । उहाँले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिनुभएको छ र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गर्नुभएको छ ।
यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबिचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहनुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका-युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताउनुभएको छ ।
अमेरिकी हतियारहरूको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ । यसअघि सोमबार पत्रकारहरूले सोधपुछ गर्दा ट्रम्पले रोक लगाउन अस्वीकार गर्नुभएको थियो तर ह्वाइट हाउसका एक अधिकारीले नाम नछाप्ने सर्तमा सहायता रोकिने बताए ।
“राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । हामीलाई हाम्रा साझेदारहरू पनि त्यो लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ”, ह्वाइट हाउसका अधिकारीले सोमबार बेलुका भने, “यसले समाधानमा योगदान गरिरहेको छ भनेर सुनिश्चित गर्न हामी हाम्रो सहायता रोकिरहेका छौँ र समीक्षा गर्दैछौँ ।” युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले केही घण्टापछि युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो जुटाउने र युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गर्नुभयो ।
“यो युरोपका लागि एक महत्त्वपूर्ण समय हो र हामी तयार छौँ”, लेयेनले ब्रसेल्समा मङ्गलबार बिहान घोषणा गर्दै भन्नुभयो । निलम्बनपछि बेलायतले पनि युक्रेनलाई आफ्नो समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा शान्ति सुनिश्चित गर्न ‘लेजर-केन्द्रित’ भएको उहाँका सहायक एन्जेला रेनरले बताउनुभयो ।
-विनाशकारी-
वासिङ्टनमा कांग्रेसका डेमोक्रेटहरूले तुरुन्तै यो निलम्बनलाई खतरनाक र गैरकानुनी भएको आरोप लगाए । “मेरा रिपब्लिकन सहकर्मीहरूले पुटिनलाई युद्ध अपराधी भनेका छन् र युक्रेनलाई निरन्तर समर्थन गर्ने वचन दिएका छन्, उनीहरूले राष्ट्रपति ट्रम्पलाई यो विनाशकारी र गैरकानुनी रोकावटलाई तुरुन्त हटाउन माग गर्नुपर्छ”, सदनको विदेश मामिला समितिका शीर्ष डेमोक्रेट ग्रेगरी मिक्सले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई सैन्य सहायता स्थगित गर्ने निर्णय गरेपछि मङ्गलबार युक्रेनीहरूले आश्चर्य व्यक्त गर्दै यो कदम क्रेमलिनको हातमा गएको बताएका छन् । वासिङ्टनले किएभलाई सैन्य सहायता रोकेको बेला उत्तर कोरिया र इरानले रुसलाई सैन्य सहायता नरोकेको युक्रेनी मिडिया टिप्पणीकार डेनिस काजान्स्कीले बताउनुभयो ।
ट्रम्पले जेलेन्स्कीको अवज्ञालाई अब ‘धेरै सहन’ नसक्ने चेतावनी दिनुभएको छ र युक्रेनी नेताले अमेरिकी समर्थनका लागि ‘बढी आभारी’ हुनुपर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मस्कोसँग युद्धविराम सम्झौताबिना जेलेन्स्की ‘धेरै लामो समयसम्म रहनु हुनेछैन’ भन्नुभयो । न्युयोर्क टाइम्सका अनुसार यो रोक तुरुन्तै लागु भएको छ र युक्रेनलाई पठाइने सयौँ करोड डलरका हतियारहरूलाई असर गरेको छ ।
जेलेन्स्कीले आफ्नो तर्फबाट सोमबार युद्ध ‘एकदमै चाँडो’ अन्त्य गर्न खोजिरहेको बताउनुभयो । जेलेन्स्कीले सन् २०१४ मा युक्रेनमा आक्रमण गरी सन् २०२२ मा द्वन्द्व विस्तार गरेको रुसलाई शान्तिका लागि गम्भीर नभएको आरोप लगाउनुभएपछि उक्त टिप्पणी आएको हो । उहाँले कडा सुरक्षा ग्यारेन्टी युद्ध अन्त्य गर्ने एक मात्र उपाय हो भनी जोड दिनुभयो ।
तर ट्रम्पको स्थितिले अमेरिकाको युक्रेन समर्थनलाई उल्टो पारेको छ र वासिङ्टनका सहयोगीहरू व्यापक रूपमा चिन्तित छन् । साथै उनीहरू रुसतर्फ अमेरिका घुमिरहेको सम्भावनाप्रति सतर्क छन् । लन्डनमा सप्ताहन्तको सङ्कट वार्तापछि बेलायत र फ्रान्सले ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युक्रेन-रुस युद्धविराम कसरी प्रस्ताव गर्ने भन्नेबारे अनुसन्धान गरिरहेका छन् । “छलफलहरू अझै पनि ‘पहिलो चरण’ मा केन्द्रित छन्”, जेलेन्स्कीले भन्नुभयो, “युद्ध समाप्त गर्ने सम्झौता धेरै, धेरै टाढा छ ।” उहाँको यस्तो टिप्पणीले ट्रम्पलाई क्रुद्ध बनाएको थियो ।
जमिनमा युक्रेनी अधिकारीहरूले मोर्चाबाट करिब १३० किलोमिटरको दूरीमा एक सैन्य तालिम सुविधामाथि रुसी मिसाइल आक्रमणबाट मृत्यु भएको रिपोर्ट गरेका छन् । युद्धका कारण मार्सल लले कुनै पनि मतदानलाई निषेध गरे तापनि ट्रम्पले यसअघि सन् २०१९ देखि राष्ट्रपति रहेका जेलेन्स्कीलाई चुनाव नगर्ने ‘तानाशाह’ भन्नुभएको थियो ।
जेलेन्स्कीले राजीनामा गर्न आउने दबाबलाई खारेज गर्नुभयो र युक्रेनलाई नाटो सदस्यता दिएमा मात्र त्यसो गर्ने आफ्नो वाचा दोहोर्याउनुभयो । युक्रेनको नाटो प्रवेशलाई रुस र अब ट्रम्प नेतृत्वको संयुक्त राज्य अमेरिकाले विरोध गरेका छन् । अमेरिका र रुसी अधिकारीहरूले युद्धको अन्त्यका लागि वार्ता गरेका छन् । किएभ र युरोप आफूहरूलाई छेउमा पारिएको भन्दै आक्रोशित भएका छन् र कुनै पनि सम्झौताले युक्रेनको भविष्यलाई खतरामा पार्न सक्ने डर उत्पन्न गरेको छ । रासस/एएफपी