रवीन्द्र उप्रेती
बर्दिबास, फागुन २० गते। रातु खोला उत्खननकाे विषयलाई लिए विवाद उत्कर्षमा पुगेको बेला उत्खनन क्षेत्रको अनुगमन भएको छ।
बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीको सहभागितामा जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णलगायतले अनुगमन गर्नुभएको हो। अनुगमनमा सह–संयोजक तथा प्रजिअ लालबाबु कवाडी, सशस्त्र र नेपाल प्रहरीका एसपी पूर्णचन्द्र भट्ट र नकुल पोखरेल लगायतको हुनुहुन्थ्यो।
बर्दिबास नगरपालिकाले चालु आर्थिक वर्ष (०८१/०८२) का लागि रातु नदीकोे चार वटा प्याकेज करिब आठ करोड ४० लाख रुपियाँ ठेक्का गरेदेखि विरोध भइरहेको छ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राममणि अधिकारीका अनुसार प्रतिवेदनअनुसार नदीका दुवै किनाराबाट ५०–५० मिटर छाडेर त्यसबिच तीन फिट गहिराइमा करिब दुई लाख ९४ हजार ६८१ घन मिटर उत्खननको ठेक्का लगाइएको हो।
चारवटै खण्डको माघ महिनामा ठेक्का सम्झौता भए यता रातु खोला उत्खनन चर्चामा छ। चार वटै खण्डमा मापदण्डको पालना नगरिएको, तीन फिट बढी उत्खनन गरिएको र रातको समय पनि उत्खनन भएको भन्दै केही राजनीतिक दल र स्थानीयले विरोध गरेपछि उत्खनन क्षेत्रको अनुगमन भएको हो। जिल्ला अनुगमन समितिको टोलीले मङ्गलबार करिब चार घण्टा अनुगमन गरेर उत्खननबारे बुझ्ने काम गरेको थियो।
अनुगमन लगत्तै समितिका संयोजक एवं जिल्ला समन्वय समिति महोत्तरी प्रमुख सुमनलाल कर्णले रातु खोलाको उत्खनन मापदण्डअनुसार रहेको बताउनुभएको छ। चार वटै प्याकेजको सामूहिक नाप जाँच गर्दा तीन फिटको परिधिमा रहेर उत्खनन गरेको उहाँको भनाइ छ।