काठमाडौँ, फागुन २० गते। नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ।‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने मार्ग प्रशस्त गर्यो र यही उत्साहबिच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नयाँ साङ्गीतिक प्रोजेक्टमा देखिन लागेकी छिन्।नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टले बताएकी छन् ।
गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको सो गीतमा नेपाली र हिन्दी सङ्गीतको अनौठो संयोजन प्रस्तुत गर्दै नेपाली लोकगीत ‘झ्याइँ पार्याे मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्याे’को प्रमुख अंशलाई समेटिएको छ।
अमेरिकामा जन्मे(हुर्केकी मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ‘झ्याइँ’ले नेपाली र भारतीय सङ्गीतप्रेमीलाई साझा साङ्गीतिक यात्रामा पुर्याएको थियो।यस गीतले मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ।यस गीतले युट्युबमा आठ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने संसारभर ट्रेन्डिङ भएको थियो ।
‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायाकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड चलचित्र छायाङ्कन गरेका छन्।प्रधानले ‘कुसुमे रुमाल’, ‘सम्झना’ लगायतका नेपाली चलचित्रसमेत छायाङ्कन गरेका छन्।निर्देशक प्रधानले यो म्युजिक भिडियोमा काम गर्दा नेपाली र हिन्दी सङ्गीतको फ्युजनको रूपमा निकै नयाँ र रोमाञ्चक अनुभव गरेको बताए।
‘झ्याइँ’ मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायाङ्कन गरिएको थियो।गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ, र मास्टरिङ चर्चित सञ्जय लीला भन्साली तथा धर्मा प्रोडक्सनका चलचित्रसँग काम गरिसकेका राहुल शर्माले गरेका थिए।