• २० फागुन २०८१, मङ्गलबार

कुमालेलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

blog

राजविराज बजारमा माटोको भाँडा बेच्दै अनिता पण्डित तथा महिला व्यापारीहरू। तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), फागुन २० गते । सप्तरीको विष्णुपुर गाउँपालिका ३ का वर्ष २० का श्रीराम पण्डितलाई यतिबेला माटोका भाँडा बनाउन भ्याइनभ्याइ छ । अरूबेलाभन्दा लगनमा यसको व्यापार बढ्ने भएकोले भ्याइनभ्याइ भएको उहाँले बताउँनुभयो । 

उहाँले भन्नुभयो, पहिले बुवाले मात्र बनाउनुहुन्थ्यो । अहिले म पनि सघाउन थालेपछि सजिलो भएको छ । अरूबेला दिनको ३ सय रूपियाँदेखि पाँच सय रूपियाँको बेच्न धौ धौ हुने भए पनि अहिले दिनहुँ १ हजारदेखि ५ हजार रूपियाँ सम्मको माटोको भाँडा बेच्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, "माटोको भाँडा बनाउन मेहनत लागे अनुसार अरूबेला आम्दानी न्यून भए पनि लगनमा राम्रो आम्दानी हुँँदै आएकोले अहिले भाँडो बनाउने र बेच्ने चटारो बढेको हो ।" माटोको भाँडो लगनमा पनि विवाह व्रतबन्धमा बढी बिक्ने गरको उहाँको भनाइ छ ।

वर्षमा वैशाख, जेठ, असार, मङ्सिर, माघ र फागुन ६ महिना बढी मेहनत गर्ने र राम्रो आम्दानी गर्ने महिना हो । बाँकी ६ महिना सामान्य आम्दानी हुने भएकोले घर खर्च धान्न समस्या हुँदै आएको उहाँले बताउनुभयो । सोही वडाकी  अनिता पण्डितले माटोको भाँडो बनाएर विक्री गरेको डेढ दशक भयो । नदीबाट चिल्लो माटो ल्याउने, भिजाउने, आवश्यकता अनुसार भाँडा बनाएर सुकाउने अनि आगोमा पोलेपछि भाँडा तयार हुँदै आएको उहाँले बताउनुभयो ।

मिहिनेत अनुसार माटोको भाँडाकाे मूल्य पाइँदैन । लगनमा अनिवार्यले चाहिने सामग्री सेट बनाएर बेच्यो भने सेटको ५ सय देखि १ हजारसम्ममा बिक्री हुँदै आएको उहाँले बताउनुभयो । मिहिनेत गर्‍याे भने अन्य पेशामा आम्दानी राम्रो हुने भए पनि यो हाम्रो पुर्खौली पेशा निरन्तरता दिनुको महत्तव अर्कै रहेको उहाँले बताउनुभयो । उहाले भन्नुभयो, हाम्रो वडामा १२ घर हामी पण्डित समुदाय बसोबास गर्दै आएका छौं । अधिकांश माटोको भाँडा बनाउने काममै व्यस्त छौं ।