• २० फागुन २०८१, मङ्गलबार

गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

blog

गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुहुँदै गृहमन्त्री रमेश लेखकसहित सुरक्षा अधिकारी । तस्बिर : सीता काफ्ले

सीता काफ्ले 

तिनाउ (रुपन्देही), फागुन २० गते । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनुभएका मन्त्री लेखक मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गर्नुभएको हो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरीक्षणका लागि पुग्नुभएको थियो । 

निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताउनुभयो । 

गृहमन्त्री लेखकले भन्नुभयो, "गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।"

उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसी व्यक्त गर्नुभयो । "अहिले मलाई बडो खुसी लागेको छ’ उहाँले भन्नुभयो, "एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ ।" यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ ।