काठमाडौँ, फागुन २० गते । राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ ।
गत भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिग्रिएर मर्मत अभावमा थन्किएका १७ वटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्नुभएको थियो ।
सम्झौतापछि हालसम्म १० वटा सङ्घीय अस्पतालमा उल्लिखित परिमाणमा उपकरण मर्मत भएको हो । ६६१ वटा उपकरणको मूल्याड्कन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इन्जिनियर उमेश किरातीले जानकारी दिनुभयो । केन्द्रले २३ लाख २० हजार रुपियाँमा ती सामग्री मर्मत सम्पन्न गरेको किरातीको भनाइ छ ।
उहाँले भन्नुभयो,“हामीले बजार मूल्य सर्वेक्षण गर्दा नेपालमा बजार मूल्य २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौं ।” यसले सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको किरातीको ठहर छ ।
बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न तयार रहेको केन्द्रले जनाएको छ । केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्नेदेखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन् ।
किराती भन्नुहुन्छ,“कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटिएका छन् ती सबै उपकरण मर्मत भएका छन् ।”