• २० फागुन २०८१, मङ्गलबार

अस्ट्रेलियामा ‘नेपाल महोत्सव’ आगामी हप्ता

blog

अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल महोत्सव’ का आयोजकहरु ।

एडिलेड (अस्ट्रेलिया), फागुन २० गते । अस्ट्रेलियामा नेपाल चिनाउने मेलाका रुपमा चिनिएको ‘नेपाल महोत्सव’  विभिन्न राज्यमा मनाउने क्रममा यही आउँदो मार्च ९ तारिख एडिलेडको एल्डर पार्कमा आयोजना हुँदैछ ।

मुलुकको कला संस्कृति र रहनसहन अनि खानपिनका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्य बोकेको एडिलेडको महोत्सवको तयारी लगभग पूरा भइसकेको आयोजक एनआरएन साउथ अस्ट्रेलियाका संयोजक सन्जय पुरीले बताउनुभयो । 

एडिलेड महोत्सव मुख्य आकर्षणका रुपमा रहेको नेपालको कला संस्कृति र महत्वपूर्ण पर्यटकीय स्थल चिनाउने नेपाल हाउस निर्माणको तीव्र रुपमा अगाडि बढिसकेको छ, यति मात्र नभ आयोजनाका अन्य तयारी पनि लगभग पूरा भइसकेको छ । 

 अष्ट्रेलियामा जन्मेका, हुर्केका नयाँ पुस्तासँंगै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्ताका युवा र अस्ट्रेलियन नागरिकका लागि नेपाल चिनारीको माध्यम बनेको यो नेपाल हाउस सदैव महोत्सवको केन्द्रबिन्दु बन्दै आएको छ । 

 नेपाली परम्परागत बाजाहरु, ढिकी, जाँतो मात्र नभएर हलो र जुवासमेत दर्शकहरुले अवलोकन गर्न पाउनेछन् ।  नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुङ्गेधारा, इनार, घर, बौद्ध चैत्य, मन्दिर पनि हाउसको मुख्य आकर्षक रहेको एनआरएन अस्ट्रेलियाका केन्द्रीय सचिव थिर गुरुङले बताउनुभयो ।

एडिलेडको आफ्नै पहिचान बनेको नेपाली पंचे बाजा, मौलिक बाजासहित सांस्कृतिक वस्तुहरु प्रदर्शनीमा राखिने अनि नेपालको पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अतिथि सत्कार संयोजक विष्णु तिवारीले जानकारी दिनुभयो । 

महोत्सवमा गत वर्षमा प्रदर्शनीभन्दा फरक र केही अलग महत्वका विषयहरु कुमारी, एकसिँगे गैँडा, नेपाली मौलिकता झल्काउने रथ, चैत्यलगायत समेत आकर्षकणका रुपमा रहनेछन् । 

महोत्सवलाई यस पटक स्थानीय शैक्षिक परामर्शदाता बुमराङ इन्टरनेशनल एजुकेशन सेन्टरले फ्लीन्डर्स विश्वविद्यालयको सहकार्यमा मुख्य प्रायोजनको भूमिका निर्वाह गरेको छ । बुमराङका आशिष वाग्लेले नेपालीपन झल्काउने र नेपालीमन जोड्ने महोत्सवमा सहकार्य गर्न पाउनु आफ्ना लागि पनि खुसीको विषय हो भन्नुभयो । 

महोत्सवलाई साउथ अस्ट्रेलियन सरकार, नेपाल राजदूतावास र नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघ संस्था तथा व्यापारी घरानाहरुले पनि सहयोग गरेको कुरा एनआरएन साउथ अस्ट्रेलिया महिला संयोजक रिज्नु अधिकारीले बताउनुभयो ।