नवलपरासी समाचारदाता
कावासोती, फागुन २० गते । गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा राखेको कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५४ प्रतिशत भएको छ ।
गण्डकी प्रदेशको भारतसँग सीमा जोडिने सो सडक नवलपरासी बर्दघाट (सुस्तापूर्व) नवलपुरको डेढगाउँबाट सुरु हुन्छ । उक्त सडक निर्माणको पहिलो खण्डको प्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय नवलपुरले जनाएको छ ।
झ्यालबास खण्डमा पहिलो चरणमा हाल ३.४ किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । २०७९ वैशाखमा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको सो खण्ड २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण सम्पन्न हुन सकेको छैन । ३२ करोड २० लाख रुपियाँ लागतमा लामा गौरीशङ्कर जेभीले सडक निर्माण गरिरहेको छ । नालासहित कालोपत्रे गर्ने योजनाका साथ काम सुचारु भएको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको छ । नाला निर्माणसँगै ठाउँ ठाउँमा ग्याबिन भर्ने, सडकछेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । सम्झौताको २१ महिना पूरा भए पनि काम सम्पन्न नभएकाले म्याद थप गरी काम सम्पन्न गरिने आयोजनाले जनाएको छ ।
सो सडक नवलपुरको डेढगाउँ बाट रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको कामसमेत अगाडि बढेको छ । डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने बताइएको छ ।
चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पु¥याउने प्रदेश सकारको लक्ष्य रहेको प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले बताउनुभयो । उहाँका अनुसार दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन । सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वी राजमार्गमा जोडिन्छ । मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको सांसद जिसी बताउनुहुन्छ ।