• २० फागुन २०८१, मङ्गलबार

वरिष्ठ बलरामको शुभमुहूर्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २० गते । चलचित्र ‘वरिष्ठ बलराम’ को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाङ्कनसमेत सुरु गरेको छ । कात्तिक ३ लक्ष्मीपूजाका दिन प्रदर्शन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै हुनुहुन्छ ।

दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहने छ । ‘वरिष्ठ बलराम’ चलचित्र क्षेत्रका सम्पादक सुरेन्द्र पौडेलको चौथो निर्देशकीय चलचित्र हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेको चलचित्रमा निर्देशक पौडेलकै कथा, सम्पादन र महेश दवाडीको लेखन रहने छ । सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायाङ्कन चितवन र हेटौँडाका विभिन्न जिल्लामा गरिने छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको द्वन्दद्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन र मानकृष्ण महर्जनको छायाङ्कन रहने छ । ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुने छ । चलचित्र सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्माण पक्षले जनाएको छ ।