• २० फागुन २०८१, मङ्गलबार

स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउनुपर्छ : उपराष्ट्रपति यादव

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव । तस्बिर : न्युज एजेन्सी नेपाल

 काठमाडौं, फागुन १९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताउनु भएको छ । 

सोमवार काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले नेपाल सबै मित्रराष्ट्रहरुसँग मित्रवत दुई पक्षीय सम्बन्ध, जनस्तरबीचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरुमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताउनु भयो । 

उपराष्ट्रपति यादवले जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतिहरु थपिएको बताउनु भयो । नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ को (ड) मा उल्लिखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित रहेको बताउनु भयो । 

उहाँले यस उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरि शर्तहरु रहेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, सुशासन, मानव अधिकार प्रवर्द्धन लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तताबाट त्राण पाउन नेपालसहित अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामूहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने बताउनु भयो । नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अनिवार्य छ । यो सन्दर्भमा यस परिषद्को जिम्मेवारी र भूमिका झनै बढी हुनसक्छ । नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ को (ड) मा उल्लिखित अन्तर्राष्ट्रिय सम्बन्धी नीति, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित छ । यी उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्रप्रेम अनिवार्य एवं सर्वोपरि शर्तहरु हुन् ।’

उपराष्ट्रपति यादवले परराष्ट्र नीतिलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ एवं बलियो बनाउन निरन्तर प्रयासको खाँचो रहेको बताउनु भयो ।