काठमाडौँ, फागुन १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनेगरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
रूपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले नेपाली कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसकेपनि सबैभन्दा ठुलो पार्टी बन्नसक्ने बताउनुभयो । उहाँले पहिलाको भन्दा ठुलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिनुभयो । नेताहरूबिचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठुलो, हिजोको भन्दा ठुलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बिचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुङ्ग्याउनुपर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’’
सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताउनुभयो ।