भनिन्छ, हावापानी नमिली खेतीपाती हुँदैन । तमाम प्राणी जगत्लाई पाल्ने पृथ्वीलाई उत्पादन दिन पनि हावापानी मिल्नै पर्छ । हावापानी अनुकूल नभई कृषि हुँदैन । सफल कृषिबिना कृषकको मुहारमा खुसी छाउँदैन । कृषकको मुहारमा खुसी छाउनु भनेको बाँकी सबैको मुहारमा पनि खुसी छाउनु हो । किसानको खुसीमा कृषि उत्पादनमा बढोत्तरीको आशा हुन्छ । त्यसले बजारमा भाउबेसाहा सन्तुलनमा ल्याउँछ । हुन त विज्ञान र प्रविधिको विकासले कृत्रिम अनुकूलन मिलाएर खेतीपाती गर्ने प्रचलन पनि कतिपय समृद्ध देशले अवलम्बन गर्दै छन् । त्यसले कृषिलाई सफलताको चरणतिर लैजाँदै छ । नेपाल जस्तो देशमा कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको अति आरम्भिक अवस्था छ । प्रकृतिले मिलाइदिएको अनुकूलनमै आमकृषि निर्भर छ । हिन्दकुश शृङ्खलाको दक्षिणतर्फ पूर्वपश्चिम फैलिएको नेपालको हिमाली, पहाडी र तराई तिनै क्षेत्र आकासे वर्षामै निर्भर छन् । हिउँदमा पश्चिमी वायु अनि बर्सातमा बङ्गालको खाडीको मनसुनी पूर्वीय वायुले पार्ने वर्षा नै कृषि उपजको मुख्य अनुकूलन हो । सधैँ अनुकूलन सही तवरले मिल्दैन । जलवायु परिवर्तनको असरले त बिस्तारै वर्षाचक्रमा अनिश्चय छाउँदै छ । यो हिउँदमा लामो समय पानी नपर्नु जलवायु परिवर्तन कै असर हुन सक्ने भनिए पनि यसमा वैज्ञानिक अन्वेषण भने हुन सकेको छैन ।
यो वर्षको हिउँद बिनावर्षा नै बित्नै लागेको थियो, धन्न फागुनको मध्यपछि केही वर्षा हुन सक्यो । गएको असोज १० देखि १२ गतेसम्म तीनदिने घनघोर वर्षाले अति क्षति गरेको थियो । बाढीपहिरो, डुबानले ४६ अर्ब रुपियाँभन्दा बढीको त सडकलगायतको भौतिक पूर्वाधारमै क्षति पुग्यो । त्यसयता पानी लगभग परेन । कपितय नेपाली किसानले भन्ने गर्छन्, कात्तिकको पानी तेल बराबर । कसैले माघको वर्षालाई पनि तेल बराबर भन्छन् । कात्तिकको वर्षाले हिउँदे बालीलाई अति अनुकूल प्रभाव पार्ने किसानको अनुभव छ । त्यसै गरी माघमा पर्ने पानीले हिउँदे बालीनालीसँगै भाबीबर्से बालीका निम्ति पनि माटो उर्वर बनाउने भनाइ छ तर यो वर्ष न त कात्तिकमा पानी पर्न सक्यो न त माघमा नै । पहाडी र तराई भेगमा वर्षाको महत्वसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्नु किसानका निम्ति खुसीको कुरा हुन्छ । हिमाली भेगमा पर्ने हिउँ त कृषिका निम्ति मात्र होइन, समग्र जल सन्तुलनका निम्ति नै अति आवश्यक छ । हिमाली नदीनालाको मूल स्रोत नै हिमालमा पर्ने हिउँ हो । जलवायु परिवर्तनको असरले हिमाली शृङ्खलामा हिउँ नै कम पर्ने र परेको हिउँ पनि चाँडै पग्लने प्रवृत्ति रहेको छ । यो हिउँदमा भने हिमाली क्षेत्रमा पनि पर्याप्त हिउँ पर्न सकेन । बल्ल फागुन आधा बितेपछि उच्च हिमाली भेगमा हिउँ पर्न सक्यो भने बाँकी भेगमा सामान्य वर्षा हुन सक्यो ।
यो पटकको हिउँदे वर्षा सबैतिर समान हुन सकेन । खण्ड वर्षा भयो । केही दिनअघि सुनसरीलगायतका पूर्वी तराईमा घनघोर वर्षा भयो । कतिपय स्थानमा असिनाले बालीनाली नै सखाप बनायो । गण्डकी क्षेत्रतिर पनि असिनाले बालीनाली सखाप बनाएको पाइयो । पूर्वी पहाडी भेगमा पनि खण्ड वर्षा नै भयो । काठमाडौँ उपत्यकामा ठुलो पानी पर्न सकेन । झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा उच्च हिमाली भेगका किसान त निराश नै भएका थिए । कर्णालीका किसानलाई बिहीबारयता भइरहेको वर्षा र हिमपातले भने केही उत्साही बनाएको खबर सम्पे्रषण भएको छ । खडेरीले सुक्दै गएको हिउँदेबालीका निम्ति ढिलै भए पनि यो वर्षाले कृषिमा राहत दिएको पाइयो । कर्णाली जिल्लाको उच्च हिमाली भेगका मुख्य अनाज गहुँ, जौ, उवा हुन् । असोज कात्तिकमा छरिने ती बालीका निम्ति हिउँदमा वर्षा तथा हिउँको ठुलो महत्व हुन्छ । झन्डै छ महिनापछि परेको हिउँ तथा पानीले कृषिमा अनुकूल प्रभाव पर्ने ठानिएको छ । जलस्रोतको धनी देश भनिए पनि सिँचाइ तथा नहरको पर्याप्त पूर्वाधार बन्न सकेको छैन । प्राकृतिक ताल तथा पोखरी पनि अतिक्रमणको चपेटामा पर्दा त्यसले पनि पानीको स्रोतमा प्रतिकूल प्रभाव परेको छ । किसानको मुहारमा खुसी ल्याउन अब सधैँ मौसमी वर्षामा मात्र निर्भर हुनु हुँदैन । पानीको स्रोतका विकल्पलाई उपयोग गरिनु पनि आवश्यक छ ।