• २० फागुन २०८१, मङ्गलबार

झरीले गोकुलेश्वरको व्यापारिक मेला प्रभावित

blog

दार्चुलाको गोकुलेश्वरको मेलामा बिक्रीका राखिएको घरेलु उत्पादन । तस्बिर : केशव भट्ट

केशव भट्ट
बाशुलिङ्ग (बैतडी), फागुन १८ गते ।
दुई दिन परेको हिउँदेझरीले गोकुलेश्वरमा जारी व्यापारिक मेला प्रभावति भएको छ । बिहीबारदेखिको वर्षाका कारण दार्चुला र बैतडीको सीमा बजार गोकुलेश्वरमा महाशिवरात्रिदेखि सुरु भएको मेला प्रभावित भएको हो ।

वर्षाका कारण मेलामा ग्राहक आउन नसक्दा व्यापार हुन सकेको छैन भने मेलास्थलमा पानी जमेर व्यापारीलाई सामान जोगाउन मुस्किल भएको छ । शनिबार वर्षा रोकिए पनि जाडो बढेको र मेलास्थल हिलाम्ये हुँदा ग्राहक आउन पाएका छैनन् ।

हरेक वर्ष यहाँ शिवरात्रिदेखि एक सातासम्म व्यापारिक मेला लाग्दै आएको छ । मेलामा दार्चुला र बैतडीका घरेलु उत्पादन र तिब्बती ऊनी कपडालगायतका सामानको व्यापार हुने गरेको छ ।

वर्षाका कारण ग्राहक नआएपछि सामान फर्काउनु पर्ने अवस्था आएको व्यापारीहरु बताउँछन् । दार्चुला, बझाङ, हुम्ला, मुगुलगायत हिमाली क्षेत्रका बासिन्दाले स्थानीय स्तरमा उत्पादन गरेका राडीपाखी, कम्बल, स्वीटरलगायतका ऊनी कपडा, निगालोका तथा काठका घरेलु उपयोगका बस्तु किन्न तराइबाट समेत ग्राहक आउने गरेका थिए । शिवरात्रिको भोलिपल्टदेखि चहलपहल हुने भए पनि यो वर्ष त्यसैदिनबाट वर्षा सुरु भएकाले मेलास्थल खाली रहेको छ ।

मेलामा जुम्लाबाट समेत व्यापारीले घोडा र ऊनी उत्पादन ल्याएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाको सिप्टी, गुल्जर, खण्डेश्वरी क्षेत्रमा बनेका निगालोका सामान पनि मेलाको मुख्य बस्तु हो । हिमाली क्षेत्रको निगालोका सामान बलियो र राम्रो हुने ग्राहकहरु बताउँछन् । डडेल्धुराको जोगबुडालगायत भित्रि मधेशमा बनेका ठेकी, हलोलगायतका सामग्री पनि बढी मात्रामा बिक्री हुने गरेको छ । 

धेरैदिन र हजारौं रुपियाँ खर्च गरेर आएका व्यापारीहरु मेलामा ग्राहक नआएर सामान फिर्ता लैजानुपर्ने अवस्था आउँदा चिन्तित छन् । पछिल्ला वर्ष जेनतेन कच्चा पदार्थ जुटाएर बनाएका बस्तु बिक्री नभएर फिर्ता लैजानु परे गुजारा चलाउनै समस्या हुने गुल्जरबाट निगालोका सामान बेच्न ल्याएका हर्कसिंह धामीले बताउनुभयो । ‘‘यसै मेलाका लागि भनेर हामीले वर्षभरी वनजङ्गल डुलेर निगालो जुटाइरहेका हुन्छौं,’’ उहाँले भन्नुभयो, ‘‘यसपाली मेला सुरु भएकै दिनदेखि पानी परेर व्यापार नै भएन । भाडा उठाउन पनि मुस्किल भएको छ ।’’ यो मेलामा बिक्री नभएका बस्तुलाई केही व्यापारी दार्चुला सदरमुकाम र तराईतिर लैजाने सोच बनाइरहेको उहाँले बताउनुभयो । यो पहाडी क्षेत्रमा उत्पादन भएका बस्तुको व्यापार हुने सुदूरपश्चिमकै ठुलो व्यापारिक मेला हो । कैलाली, कञ्चनपुर र भारत पिथौरागढबाट समेत मेला भर्न आउने गरेका छन् ।

पानी रोकिएपछि शनिबार दिउँसोबाट सामान्य चहलपहल हुन थाले पनि व्यापार खासै हुन नसकेको दार्चुलाको शैल्यशिखर नगरपालिका प्रमुख प्रशासनिक अधिकृत सुरेन्द्र बिष्टले बताउनुभयो ।

‘‘दुई दिन पूरै पानीले व्यापार अवरुद्ध भयो । शनिबार मौसम केही खुल्दा नजिक बासिन्दा मेलास्थल आइरहनुभएको छ ।,’’ उहाँले भन्नुभयो ‘‘व्यापार खासै हुन सकेको छैन । मौसम सुधार भए अझै दुई दिनरतीन दिन बाँकी छ, व्यापारमा सुधार हुन्छ कि भन्ने उहाँहरुले अपेक्षा गरेका छन् ।