मकवानपुर समाचारदाता
हेटौँडा, फागुन १८ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । नेपाली सेनाको मध्यपृतना हेटौँडाले महाशिवरात्रि तथा २६२ औँ नेपाली सेना दिवसका अवसरमा शनिबार आयोजना गरेको विविध सैनिक प्रदर्शनी, वाकाथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता–२०८१ कार्यक्रममा उहाँले सेनाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको हो ।
देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपत् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा सेनाले योगदान पु¥याउँदै आएको उहाँले स्पष्ट पार्नुभयो । “जनतालाई नै केन्द्रबिन्दुमा राखेर देशका कुनाकाप्चामा जनहितका अनेक कार्य सेनाले गर्दै आएको छ । आफ्नो ज्यानको वास्ता नगरी जनरक्षाका लागि निरन्तर लाग्दै आएको सेनाको गौरवशाली इतिहास रहेको छ,” उहाँले बताउनुभयो ।
राष्ट्रलाई पर्न आउने विभिन्न विपत्तिमा जनधनको क्षति हुनबाट जोगाउन सहयोग गरेको विषयमा उहाँले उच्च सम्मान प्रकट गर्नुभयो । प्रदेश प्रमुखले प्रदेशस्तरमा आयोजना गरिएको यस वाकाथुन तथा एडभेन्चर च्यालेन्ज प्रतियोगिता–२०८१ ले बागमती प्रदेशमा रहेका जनतालाई नेपाली सेनाबारे बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो ।
“अनेकताबिचको एकताको प्रतीकका रूपमा नेपाली सेनाले पाइरहेको जनताको साथ र सहयोगमा समेत वृद्धि भएको देखिन्छ,” उहाँले भन्नुभयो । एडभेन्चर च्यालेन्ज प्रतियोगिताले युवा तथा विद्यार्थी भाइबहिनीका कठिनाइलाई हौसला, जोस, जाँगर र मानसिक तथा शारीरिक तन्दुरुस्तीले पार गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, मध्यपृतनापति हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवं प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख, वाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।