चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १८ गते । महाशिवरात्रिको अवसरमा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आयोजना गरिएको रघुनाथ–छत्रमाया स्मृति रनिङ कपको उपाधि चाँगेको माछापोखरी हिटी क्लबले जितेको छ । पाहुना टोली म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमलाई २–१ गोलले पराजित गर्दै चाँगेले उपाधि जितेको हो ।
आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे, माछापोखरी हिटी क्लबको जितका लागि कुञ्जमान थापा र पुजन चौधरीले एक–एक गोल गर्नुभयो । म्याङ्लुङका तर्फबाट विशाल काफ्लेले सान्तवना गोल फर्काउनुभएको थियो ।
यता उपाधि जितसँगै चाँगेले दुई लाख ६० हजार १११ हजार रुपियाँ नगद पुरस्कारसहित दुई तोला सुन र २५० तोला चाँदी जडित रनिङ ट्रफी हात पारेको छ । लगातार तीन पटक प्रतियोगिताको बिजेता हुँदै यसपटक चाँगेले ट्रफी पच गरेको छ । यस्तै उपबिजेता बनेको म्याङ्लुङ स्पोर्टिङ क्लबले एक लाख ३१ हजार १११ रुपियाँ नगद पाएको छ । प्रतियोगितामा ताप्लेजुङसहित तेह्रथुम, धनकुटा, मोरङ र सुनसरी धरानका समेत आठ टोलीको सहभागिता रहेको थियो ।
त्यस्तै, पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि मेन्छ्यायाम गाउँपालिका तेह्रथुमले जितेको छ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको मेन्छ्यायामले ८० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता मेरिङ्देनले ४० हजार रुपियाँ नगदमा चित्त बुझाउनु परेको छ । महिलातर्फ सात टोली सहभागी थिए ।
यसैगरी, पुरुष ब्याडमिन्टन डबलमा बसन्त गुरुङ र मिनिन गुरुङको जोडी प्रथम हुँदै १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । दोस्रो भएको ज्ञानु तेम्बे र युवराज बोगटीको जोडीले सात हजार रुपियाँ नगद पाएको छ ।
ब्याडमिन्टन सिङ्गल (एकल) तर्फ मिनिन गुरुङ प्रथम र बसन्त गुरुङ दोस्रो हुनुभएको छ । प्रथम र दोस्रो हुनेले क्रमशः १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ । गएको मङ्गलबार सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको महाशिवरात्रि मेला आयोजक समितिका सचिव चिरिन्जीवी चोङ्बाङले जानकारी दिनुभयो । प्रतियोगिता नारायणी माध्यमिक विद्यालय साँघुको खेल मैदानमा सञ्चालन गरिएको थियो ।