आफ्नो जन्मभूमि कसलाई प्यारो हुँदैन र ? आफू जन्मिएको थातथलो सबैका निम्ति उत्तिकै प्यारो हुन्छ । मानिस जहाँ पुगे पनि थातथलो बिर्सन सक्दैन । विपनामा पुग्न नसके सपनामा पनि पुगिरहेको हुन्छ । समयले सबैलाई थातथलोमै बसिरहन साथ दिँदैन । मानव सभ्यताको इतिहास नै अवसरका खोजीमा भाैँतारिहने छ । कुनै बेला कम उब्जनी भएको भूमिबाट बढी उब्जनी हुने भूमिमा मानिस बसाइँ सर्न थाल्यो । औद्योगिक क्रान्तिपछि उद्योगधन्दा भएको स्थानतिर बसाइँ सर्न थाल्यो । बिस्तारै उद्योगधन्दा, कलकारखाना भएका ठाउँ सहर बन्दै गए । गाउँबाट सहर पस्ने परम्परा विकास हुन थाल्यो । गाउँमा भन्दा बढी सुविधा सहरमा हुने नै भयो । सहरमा सुविधा मात्र होइन, बढी अवसर पनि हुन्छ । धनआर्जनको अवसरले मानिसलाई निरन्तर तान्दै लग्यो । विश्वव्यापी प्रवृत्ति नै गाउँबाट सहर पस्ने देखिएको छ । सहरीकरणका अनेक समस्या भए पनि मानिस सहर पस्न छाड्दैन । नेपालमा यताका दशकमा गाउँबाट सहर तथा विदेश जाने राम्रै लहर चलेको छ । कुनै बेला पहाडबाट तराई झर्ने लहर नै थियो । हिमाल, पहाड, तराई सबैतिरबाट सहर वा विदेश जाने पछिल्लो लहरले गाउँ सुनसान हुँदै छन् । उर्वर भूमि बन्जर बन्दै छन् । यस्तो लहरमा ओखलढुङ्गाको एउटा गाउँमा भने गाउँ फर्कने नवीन ऊर्जा देखिएको छ । जन्मभूमिमै पसिना बगाउने पवित्र लक्ष्यले नयाँ सन्देश दिएको छ ।
सहर र बिदेसिने पछिल्लो लहर विपरीत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ को चुहानछापका ५० घरपरिवारले नयाँ उदाहरण दिएका छन् । सबै परिवार एकैसाथ गाउँ फर्किएका छन् । कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको सङ्कल्प बोकेर उनीहरू गाउँ फर्किएका हुन् । नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउने प्रतिबद्धतामा जुटेका छन् । रोजगारी, अध्ययन र व्यापार व्यवसायलगायतका उद्देश्य बोकेर २०६० सालदेखि त्यस गाउँका बासिन्दाले गाउँ छाड्न थालेका थिए । काठमाडौँसहित विभिन्न सहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुगेपछि गाउँ नै रित्तो हुँदै थियो । उर्वर भूमि भएको त्यस गाउँमा खेतीकिसानीले बिराम नै लिएको थियो । गाउँबाट बाहिरिएपछि चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बनेका थिए । केही दशकअघि चुहानछाप गाउँ हराभरा थियो । खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे । पशुपालनबाट पनि राम्रै आम्दानी थियो । छोडेपछि हराभरा गाउँ उजाडे बन्ने नै भयो । जमिन बाँझिनु स्वाभाविक थियो । गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्न थाल्यो । नेपालका कतिपय पहाडी भूभागका गाउँ अहिले जङ्गलले ढाक्न थालेका छन् । गाउँमै खेती किसानी गर्नेलाई कतिपयलाई पनि जङ्गली जनावरले सताउन थालेको समाचार आइरहन्छन् ।
रोजगारी, अध्ययन आदिका निम्ति चुहानछापका गाउँ छाडेका युवाको अब बिस्तारै उमेर ढल्किँदै गयो । कतिपय कामबाट निवृत्तसमेत भए । फेरि गाउँ सम्झिने पवित्र कर्म गरे । कृषिमा जुट्ने प्रतिबद्धताका साथ ‘गाउँ फर्क’ अभियान चलाएर आफ्नो जन्मथलो फर्किनु यो समयका राम्रो सन्देश हो । सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो । उहाँको घर काठमाडौँमा पनि छ तर उहाँले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाएको बताउनुभएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएर संस्थागत कृषिकर्ममा जुट्ने भएका छन् । त्यसका निम्ति कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरिएको छ । पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ । सुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको छ । विदेश वा सहर सबैका निम्ति सधैँ हुन सक्दैन भन्ने देखिएको छ । उत्पादनका साधनमध्ये सबैभन्दा अब्बल जमिन बाँझो राखेर देशले समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन । सडकलगायत भौतिक पूर्वाधार विस्तार भएको गाउँ उजाड बन्दै जानु देशका निम्ति विडम्बना नै हो । यसमा चुहानछापले नवीन उदाहरण र ऊर्जा दिएको छ । यो सन्देशलाई देशका तीन तहकै सरकारका सम्बद्ध निकायले मनन गर्नु पर्छ । अब गाउँमुखी नीति, योजना र कार्यक्रम बनाउन जरुरी देखिएको छ ।