रामकृष्ण बोहरा
बागलुङ, फागुन १८ गते । मुस्ताङ जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्वको खोप अभियान आइतबारदेखि सुरु हुँदैछ । अत्याधिक चिसो र हिमपातका कारण बन्द भएको खोप अभियान विद्यालय खुलेसँगै आजबाट सुरु हुन लागेको हो ।
पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको पठनपाठन प्रभावित हुने भएकाले बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका चौबिस विद्यालयले वर्षेनि दुई महिने हिउँदे बिदा दिने गर्छन् । फागुनको पहिलो सातादेखि विद्यालय खुल्न थालेपछि मुस्ताङमा एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङका अनुसार, आइतबारदेखि सुरु खोप अभियान फागुन २४ गतेसम्म चल्ने छ । खोप अभियानमा जिल्लाका ४ चार सय ८० जना किशोरीलाई खोप लगाइने छ । तीमध्ये चार सय ५८ जना विद्यालयमा अध्ययरत र २२ जना विद्यालय बाहिर रहेका किशोरी हुन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ढिकी गुरुङको उपस्थितिमा जनशान्ति माध्यामिक विद्यालयबाट खोप अभियानको सुरुवात गरिने जनस्वास्थ्य अधिकृत तामाङले जानकारी दिनुभयो ।
थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका सत्र विद्यालय र नौ स्वास्थ्य संस्था गरी २६ खोप केन्द्रबाट किशोरीलाई खोप लगाइने छ । खोप अभियानलाई प्रभावकारी बनाउन ७८ जना स्वास्थ्यकर्मी परिचालित हुने छन् ।
उपल्लो मुस्ताङका विद्यालयले गाउँपालिकाको सिफारिसमा पोखरा, लुम्बिनी र तनहुँको दुलेगौडामा घुम्ती कक्षा चलाउँदै आएका छन् । घुम्ती कक्षाका लागि बेसी झरेका उमेर समूहका सबै किशोरीहरुले खोप लगाइसकेको तामाङले बताउनुभयो । अभियानबाट कोही किशोरी नछुटोस् भनी स्वास्थ्य स्वयम्सेविकामार्फत नाम समेत सङ्कलन गरिएको छ ।
‘‘खोप अभियान सकिएपछि हरेक घर घरमा गएर खोप लगाए/नलगाएकोबारे जानकारी लिने समेत कार्यक्रम छ ।,’’ तामाङले भन्नुभयो, ‘‘महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र विद्यालयका बाल क्लबले एचपिभी खोप लगाउन छुट्न सक्ने किशोरीको खोजी गर्ने छन् ।’’
विद्यालयको पहुँचमा भएकाहरु नछुटेपनि कतिपय पहुँचमै नभएकाहरु छुट्न सक्ने भएकाले खोजी अभियान चलाइने तामाङको भनाई छ ।