नारायणगढ समाचारदाता
नारायणगढ, फागुन १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकसंस्कृति, गीतसङ्गीतले मान्छेलाई मात्रै नभई प्रकृतिलाई समेत छुने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा शनिबारबाट सुरु भएको ‘आठौँ राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिता–२०८१’ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले लोकसंस्कृति मन नपराउने मानव हुन नसक्ने बताउनुभयो ।
“गीतसङ्गीतलाई प्रकृतिले पनि मन पराउँछ । हावा आएन भने प्रकृतिमा सुसेली बजाएर हावा बोलाउँछौँ,” उहाँले भन्नुभयो, “संसार नै रमाउने गीतसङ्गीतमा हो । लोकसङ्गीत र दोहोरीले हाम्रो मनमुटु नै छुने गर्दछ ।” मानिसलाई दुःख होस् वा सुखमा गीतसङ्गीतबाटै आफ्नो भावना उजागर गर्ने गरेको उहाँले बताउनुभयो । नेपाली लोकसङ्गीतमा पूर्वमा ठाडोभाका र पश्चिममा गाउँले भाका भएको उल्लेख गर्दै मुख्यमन्त्री लामाले यस्ता प्रतियोगिताले सबैतर्फका उत्कृष्ट प्रतिभा उत्पादन हुने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले लोकसंस्कृतिको जगेर्ना गर्ने दायित्व सबैको भएको बताउनुभयो । ‘हाम्रो अभियान लोकसंस्कृतिको संरक्षण स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता फागुन २० गतेसम्म जारी रहने छ । प्रतियोगितामा ४२ वटा समूहले प्रतिस्पर्धा गर्ने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका दीपक खड्काले जानकारी दिनुभयो ।