गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १८ गते । काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन छ वटा सबस्टेसन निर्माणाधीन रहेको र यसपछि २० वटा थप निर्माणको प्रक्रियामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका छ वटा सबस्टेसन निर्माण गरिरहेको जनाएको छ ।
यसमध्ये काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ । फुटुङ र मूलपानी सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । भक्तपुरको चाँगुनारायण सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेसनलाई सञ्चालन (चार्ज) मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेसन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेसन आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रत्येक सबस्टेसनको क्षमता ९०/९० एमभिए रहेको छ । सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा थप करिब पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौँ उपत्यकाको विद्युत् माग पाँच सय मेगावाटको हाराहारीमा छ । प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौँ उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
यी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्तिका लागि चार सय/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार निर्माणाधीन सबस्टेसनको अनुगमन गरी काठमाडौँ उपत्यकाभित्रको विद्युत् बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौँको विद्युत् माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई विद्युत् आपूर्ति थप भरपर्दो एवं गुणस्तरीय हुने उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौँको दक्षिण–पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा १३२/११ केभी सबस्टेसन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त सबस्टेसन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुङ्गालगायतका क्षेत्रको विद्युत् आपूर्ति थप सुधार हुने छ ।
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौँको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । चोभारमा सबस्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइने छ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैङ्क (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।