• २० फागुन २०८१, मङ्गलबार

इपिएसको आवेदन आह्वानमा ढिलाइ

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १८ गते । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।  

परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन् । यता एचआरडी कोरियाको वेबसाइटमा पनि नेपालसहित केही देशमा इपिएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये केहीको करार सम्झौतासमेत भई जान सुरु गरेको इपिएस कोरिया शाखाले जनाएको छ । 

इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राईले हालसम्म इपिएस कोरिया शाखामा एचआरडी कोरियाबाट भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको र कुनै जानकारी पनि प्राप्त नभएको बताउनुभयो । यसले अन्योलको अवस्था देखिएको उहाँको भनाइ छ । 

अघिल्लो वर्षमा एउटै क्षेत्रमा आवेदन दिनेहरूको सङ्ख्या धेरै हुँदा एचआरडी कोरियाले कोरियाली भाषा परीक्षा सक्न एक वर्ष लागेको थियो । त्यसैले गर्दा असर नयाँ आवेदन देखिएको अनुमान छ । एचआरडी कोरियाले तत्काल लिने श्रमिकको सङ्ख्याभन्दा बढीमा २० प्रतिशत मात्रै रोस्टरमा रहने गरी माग गर्ने गरी तयारी इपिएस शाखाको छ । यसअघि दक्षिण कोरियाले इपिएस भाषा परीक्षामा श्रमिकको माग सङ्ख्याभन्दा दुई तिहाइभन्दा बढी मात्रै आवेदन लिन नेपाललाई आग्रह गरेको थियो । एचआरडी कोरियाले सन् २०२५ मा नेपालका लागि इपिएस अन्तर्गत यस वर्ष सेवामूलक र वन विज्ञानसहित ‘होटेल तथा रेस्टुराँ’ र पानीजहाज निर्माणका क्षेत्रमा पनि भाषा परीक्षा सञ्चालन गर्ने बुझिएको छ । त्यसो त यसअघि नै भाषा परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपालीको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको छ । 

एचआरडी कोरियाले इपिएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लगिने गरेकोमा यस पटक ताजिकिस्तान पनि थपिएको छ । देश थपिएसँगै सन् २०२५ मा नेपालबाट दक्षिण कोरिया लैजाने श्रमिकको सङ्ख्या उल्लेख्य मात्रामा घट्न सक्छ । 

दक्षिण कोरियाले इपिएस प्रणालीबाट बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्याम्बोडिया, म्यान्मारसहित विभिन्न देशहरूबाट कामदार लैजाने गरेको छ । तीमध्ये पछिल्ला वर्षमा सबैभन्दा धेरै श्रमिक नेपालबाट पर्ने गरेका छन् । 

सन् २०२३ मा नेपालबाट इपिएस प्रणाली अन्तर्गत १९ हजार ६९८ कामदार रोजगारीका लागि छनोट भएका थिए । त्यसअघि सन् २०२२ मा १४ हजार जना गएका थिए । भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबिचको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबिच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता २०२४ नोभेम्बरमा सकिएको छ ।