• १७ फागुन २०८१, शनिबार

सबैको सहमतिमा संविधान संशोधन हुन्छ : महामन्त्री थापा

blog

अन्तरक्रिया कार्यक्रममा धारणा राख्नुहुँदै नेपाली काँग्रेसका महामन्त्री गगन थापा। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १७ गते। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैको सहमतिमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताउनुभएको छ। 

नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागद्धारा नेपालगन्जमा शनिबार आयोजना गरिएको ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो बताउनुभएको हो। 

उहाँले संविधानसभाबाट निर्मित यो संविधान निर्माण गर्दा धेरै कुरा हतारमा गर्नु परेको र दस वर्षसम्म कार्यान्वयन गर्दा देखिएका केही जटिलतासँगै विभिन्न अन्य विषयमा संशोधन आवश्यक देखिएकोले संशोधनको बहस र छलफल चलाइएको बताउनुभयो। 

संविधान संशोधनको मुख्य लक्ष्यका साथ काँग्रेस र एमालेको गठबन्धन बनेको भएपनि संशोधन गर्दा सरकार बाहिर रहेको माओवादी केन्द्र र रास्वपालाई पनि सहमतिमा ल्याएर मात्र संशोधन गरिने थापाले प्रष्ट पार्नुभयो। 

उहाँले संविधान संशोधन गर्दा अहिले संविधानमा उल्लेख गरिएका कुनै पनि अधिकार कटौती नगरिने जनाउँदै अन्य विभिन्न विषयमा देखिएका जटिलतालाई सच्चाएर राजनीतिक स्थायित्व र देश विकासको ढोका खोल्ने बताउनुभयो।

महामन्त्री थापाले निर्वाचन प्रणालीमा देखिएका केही कमी कमजोरीले राजनीतिक स्थायित्व कायम हुन नसकेको, संघीयता कार्यान्वयनमा केही जटिलता देखिएको, सुशासनको विषयमा पनि धेरै समस्या देखिएकाले संशोधन यी विषयमा केन्द्रित रहेको र सबैको सहमतिमा मात्र गरिने बताउनुभयो। 

नेपाली काँग्रेसका महामन्त्री थापाले त्यसअघि वर्तमान गठबन्धन सरकारले संविधान कार्यान्वयनसँग जोडिएका विभिन्न कानुन निर्माण गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। 

कार्यक्रममा संविधानविद् काशिराज दाहालले नेपालको संविधानको दस वर्षको कार्यान्वयनमा धेरै कुरा संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएकोले यसको मुल मर्म र सिद्धान्तमा कुनै प्रभाव नपर्ने ढंगले संशोधन गर्नुपर्ने सुझाव देशभरबाट प्राप्त भइरहेको बताउनुभयो।  

लुम्बिनी प्रदेशका संविधानसभाका सदस्य, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, कानुन व्यवसायी र बुद्धिजीवीको उल्लेख्य सहभागिता रहेको सो अन्तरक्रियामा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर, केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, रंगमति शाही, मैकुलाल बाल्मिकी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिह पुन लगायतले संविधान संशोधन गर्दा ध्यान दिनुपर्ने बुँदा प्रस्तुत गर्नु भएको थियो।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पेशागत तथा बुद्धिजीवी विभागका प्रमुख डा. डिला संग्रौला पन्तको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी धेरैले संविधान संशोधन र देशको आर्थिक तथा सामाजिक अवस्थाका बारेमा धारणा राख्नुभयो।