विजयकुमार साह
ढल्केबर, फागुन १७ गते। धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो २० वर्षीया अञ्जली यादवको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणकुमार सिंहले पुष्टि गर्नुभएको छ।
उहाँका अनुसार स्थानीयले बच्चासहित हरेराम यादवको दम्पत्ती बेपत्ता भएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। खोजीका क्रममा पूजाकोठाभित्र गाडिएको अवस्थामा अञ्जलीको शव फेला पारेको हो।
उहाँले भन्नुभयो, ‘गाउँलेले बच्चसहित श्रीमान श्रीमती बेपत्ता भएको खबर गरेपछि हामीले खोजी थाल्यौं। शङ्का लागेर घरभित्र जाँच्दा पूजाकोठामा शव गाडिएको अवस्थामा भेटियो।’ अञ्जलीको हत्या श्रीमान् हरिरामले नै गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रवक्ता सिंहको भनाइ छ।
उहाँका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार गत शनिबार अञ्जली र हरिरामबिच झगडा भएको थियो। त्यसको भोलिपल्ट हरिरामले श्रीमती घर छाडेर गएको बताउँदै आएका थिए। तर मङ्गलबार उनी घरमा ताल्चा लगाएर १० महिने छोरीसहित बेपत्ता भएका थिए।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो।