• १७ फागुन २०८१, शनिबार

गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी

blog

गाजा, फागुन १७ गते । इजरायल-हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको १५ महिनाभन्दा बढी लामो युद्धपछि जनवरी १९ मा युद्धविराम लागु भएको थियो ।

सुरुको छ हप्ताको अवधिमा गाजाका लडाकुहरूले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकहरूलाई मुक्त गरेका थिए भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेका थिए । बदलामा इजरायली सुरषा नियन्त्रणमा रहेका एक हजार ९०० कैदीबन्दीको रिहाइ भएको छ । युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौं बन्धकहरूको रिहाई सुनिश्चित गर्ने र युद्धको थप स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कायरोमा एक प्रतिनिधिमण्डल पठाउनुभएको छ र मध्यस्थ इजिप्टले इजरायलका साथै सहयोगी मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको ‘गहन वार्ता’ सुरु भएको बताएको छ । शनिबार बिहानसम्म सहमतिको कुनै सङ्केत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ । 

“युद्धविराम सम्झौताको दोस्रो चरण भोलि बिहान अर्थात् आइतबार देखि सुरु हुने बताइए पनि अझै पनि ढिलासुस्ती भइरहेको छ र सम्झौताको उल्लङ्घन जारी छ,” स्रोतले एएफपीसँग भन्यो । वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार कायरोमा हमासको प्रतिनिधिमण्डल अनुपस्थित भए तापनि गतिरोध समाधानका लागि छलफल भइरहेको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपथिंक ट्यांकका म्याक्स रोडेनबेकले दोस्रो चरण तत्काल सुरु हुने अपेक्षा गर्न नसकिने बताउनुभयो । उहाँले थप्नुभयो, “मलाई लाग्छ, युद्धविराम भङ्ग हुने छैन ।” इजरायली रक्षामन्त्री इजरायल काट्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तारअन्तर्गत थप बन्धकहरूलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताउनुभएको छ । 

हमासको आक्रमणका क्रममा कब्जामा लिएका २५१ बन्धकमध्ये ५८ जना अझै गाजामा रहेका छन् । इजरायली सेनाले कुल बन्धकमध्ये ३४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । मृतक बन्धकमध्ये आठ जनाको शव हमासले इजरायललाई हस्तान्तरण गरिसकेको छ । रासस