• १७ फागुन २०८१, शनिबार

उत्तराखण्डका मुख्यमन्त्री धामीद्वारा हिम पहिरोमा परी घाइते भएका श्रमिकसँग सोधपुछ

blog

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी । फाइल तस्बिर

चमोली, उत्तराखण्ड, फागुन १७ गते । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार माना हिमपहिरोबाट उद्धार गरिएका घाइतेलाई भेटी घटनाबारे जानकारी लिनुभएको छ । घाइतेसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “सरकारले उद्धारका लागि सेना तथा अन्य सुरक्षाकर्मीसहितको विशेषज्ञ टोलीलाई पठाइ अझै सम्पर्कमा आउन नसकेका आठ जनाको खोजी कार्य जारी राखेका छ ।”  

मुख्यमन्त्री धामीले एएनआईसँग भन्नुभयो, “बाक्लो हिमपातका कारण सो क्षेत्र जोड्ने सबै सडक अवरुद्ध भएका छन् । अझै फसेका सबैलाई जतिसक्दो चाँडो उद्धार गर्ने प्रयास गरिरहेका छौं । आज उद्धार गरिएका १४ जना कामदार सबै सकुशल छन् र उनीहरूलाई जोशीमठमा ल्याइँदैछ ।” घाइते कामदारलाई सैनिक अस्पतालमा उपचारका लागि जोशीमठ लगिएको हो ।

मुख्यमन्त्री धामीले सेनाका जवान र अधिकारीसँग पनि भेट गरी उद्धार र राहतकार्यबारे जानकारी लिनुभएको छ । शनिबार बिहानसम्म हिउँमा फसेका ५५ जनामध्ये ४७ जना श्रमिकको उद्धार गरिएको छ भने अन्य आठ जनाको उद्धारका लागि उद्धार तथा राहत कार्य जारी छ । जिल्ला अधिकारी सन्दिप तिवारीका अनुसार माना गाउँ नजिकै हिमपहिरोमा फसेका आठ जनालाई बचाउन सेनाका चार वटा हेलिकाेप्टर परिचालन गरिएको छ । रासस/एएनआई