• १७ फागुन २०८१, शनिबार

टेबलटेनिसमा अर्नव र आरती च्याम्पियन

blog

महिलातर्फ उपाधि विजेता आरती चौधरी ।

काठमाडौँ, फागुन १७ गते । ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार सिङ्गल्स उपाधि जित्नुभएको छ । अर्नव पुरुष तथा आरती महिलामा च्याम्पियन बन्नुभयो । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गर्नुभयो । 

महिलाको उपाधि भिडन्तमा आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११–८, ११–४ र ११–५ को सोझो सेटमा हराउनुभयो । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिङ्गल्समा दार्जिलिङ टेबलटेनिस एसोसिएसनका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९–११, ११–९, ११–७ र ११–६ को सेटमा पाखा लगाउँदै पहिलो हुनुभयो । 

४० वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङका तानमोय दत्तले खोल्चपुखका समिप श्रेष्ठलाई सीधा सेटमा ११–९, ११–७ र ११–६ ले हराउँदै उपाधि जित्नुभयो । ६ दिने प्रतियोगितामा चार सय दुई खेलाडीले विभिन्न नौ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।