• १७ फागुन २०८१, शनिबार

गैँडाको आक्रमणबाट एक घाइते

blog

फाइल तस्बिर ।

अनिल पराजुली

हेटौँडा, फागुन १७ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । शनिबार दिउँसो खयरघारी मरुङगे ताल स्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३५ वर्षीय रामदिनेश कुशवार गैँडाको आक्रमणबाट घाइते हुनुभएको हो । 

प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवनी दासको कमान्डमा खटिएको टोलीले घाइते कुशवारलाई उपचारका लागि भरतपुर चितवन सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

गैँडाको आक्रमणबाट दाहिने खुट्टामा चोट लागेको र गैँडा वनतिर भागेको प्रहरीले जानकारी दिएको छ ।  यसअघि पनि यस क्षेत्रमा जङ्गली जनावरले दुःख दिँदै आएको छ ।