• १७ फागुन २०८१, शनिबार

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा पनि लागु गर्न माग

blog

पत्रकार सम्मेलन गरेर अस्पतालले दिइरहेको सेवाबारे जानकारी गराइँदै। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १७ गते । धनगढीको नवजीवन अस्पताल प्रालिले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा पनि लागु गर्न माग गरेको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पतालमा लागु गर्न माग गरिएको हो । 

सरकारले कुनै निश्चित अस्पतालमा मात्रै लागु गरेर स्वास्थ्य बिमा कार्यक्रम सफल नहुने अस्पतालका मेडिकल डाइरेक्टर डा.विदुरमणि ढकालले बताउनुभयो । बिरामीको उपचार सहजताका लागि यस्तो कार्यक्रम सबै अस्पतालमा लागु गर्न आवश्यक रहेको उहाँको जिकिर थियो ।

स्वास्थ्य बिमा कार्यक्रम लागु भएको सरकारी अस्पतालमा उपचार नपाएर बिमा गरेका बिरामी उपचारका लागि निजी अस्पताल धाउनु पर्ने बाध्यता रहेको जनाइएको छ । 

अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम सफल हुन नसकेको बताउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले स्वास्थ्य बिमा कार्यक्रमलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनुभयो । 

यससैगरी, अस्पतालले निःशुल्क डायलासिस सेवा शय्या थप गर्न सरकारसँग माग गरेको छ । १० शय्याबाट डायलासिस सेवा सञ्चालन गर्दै आएको नवजीवनले छ शय्या निःशुल्क सञ्चालन गरिरहेको छ। 

विपन्न वर्गले वडा वा सम्बन्धित पालिकाबाट सिफारिस लिएर आएपछि अस्पतालले निःशुल्क रूपमा डायलासिस गर्ने गरेको मेडिकल डाइरेक्टर ढकालले बताउनुभयो । तर, डायलासिस गराउनेको चाप बढ्दो र शय्या कम रहेका कारण समस्या भइरहेको उहाँको भनाइ छ ।  

निःशुल्क डायलासिस सेवा शय्या थप गरेर १८ वटासम्म पुर्‍याउन सकिएमा मृगौलाका बिरामीलाई सहज हुने उहाँले उल्लेख गर्नुभयो । 

यसैबिच, सामाजिक दायित्व अन्तर्गत अस्पतालले ट्राफिक व्यवस्थापनका लागि ३० वटा डिभाइडर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ ।