• १७ फागुन २०८१, शनिबार

अलैँचीका रेसाबाट हस्तकलाका सामग्री बनाउन सिक्दै महिलाहरू

blog

अलैंचीका रेसाबाट हस्तकलाका सामग्री बनाउन सिक्दै महिलाहरू । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १७ गते । लमजुङका किसानहरूले फल उत्पादनपछि खेर गैरहेको अलैंचीको रेसाबाट हस्तकलाका सामग्री बनाउन सिकेका छन् । महिलालाई आत्मनिर्भर बनाउन अलैँचीको खेर जाने रेसाबाट विभिन्न प्रकारका हस्तकला सामग्री बनाउने सीप सिकाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ लमजुङ (मनाङ ) ले सामाग्री बनाउने सीप सिकाएको हो । 

मर्स्याङ्दी र क्व्होलासोथर गाउँपालिकाका १० जना किसान महिलाहरूलाई अलैंचीको रेसाबाट हस्तकालाका सामाग्री बनाउन सीप सिकाइएको परियोजना कार्यालयका निमित्त कार्यालय प्रमुख हरिबहादुर मिजारले बताउनुभयो । “उत्पादित अलैँची त बिक्री भैहाल्छ नै, यसका रेसाहरू भने त्यसै खेर गैरहेको थियो”, उहाँले भन्नुभयो, “अब हस्तकलाका सामाग्री बनेपछि खेर गएको वस्तुबाट थप आम्दानी हुने भयो ।”  

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाको अलैंची किसान सुनमया तामाङले खेर जाने अलैंचीको रेसालाई सदुपयोग गरि आम्दानी गर्ने सीप सिक्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अलैंचीका रेसाबाट डोर म्याट, कलम राख्ने भाँडा,, टोपी, चम्पल, व्यागलगायतका सामग्री बनाउन सिकेको बताउनुभयो ।

क्व्होँलासोँथरकी किसान नैनकला गुरुङले पेन्सिल बक्स, पर्स, झोला, झन्डालगायतका सामाग्री बनाउन सिकेको बताउनुभयो । “बिस वर्षदेखि हामीले एघार रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “अहिलेसम्म फल टिपेपछि रेसा त्यत्तिकै खेर फालिरहेका थियौं, अब सदुपयोग हुनेभयो ।” आफुँले सिकेको सीप अरू किसानलाई पनि सिकाएर हस्तकलाका सामाग्री उत्पादन गर्ने उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङले खेर जाने यस्ता वस्तुबाट हस्तकलाका सामाग्री बनाउन सके किसानको आयआर्जनमा बृद्धि गर्न सकिने बताउनुभयो । यस वर्ष लमजुङका किसानहरूले अलैँची दाना बिक्री गरेर मात्र २२ करोड आम्दानी गरेका छन् । खेर गैरहेका अलैँचीका बोटबाट हस्तकलाका सामग्री बनेपछि थप आम्दानी बढ्ने किसानहरूले बताएका छन् ।