वसन्त पराजुली
नारायणगढ, फागुन १७ गते । चितवनमा बस्ने आदिवासी तथा जनजातिहरुको मातृभाषा प्रयोगको अवस्था ‘राम्रो’ रहेको पाइएको छ । भरतपुर महानगर पालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको समाजशास्त्रिय अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको अध्यययन प्रतिवेदनमा चितवनका आधिकांश आदिवासी तथा जनजातिहरुले मातृभाषा प्रयोग गर्ने गरेको तथ्य प्रस्तुत गरियो ।
कार्यक्रममा आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै संस्कृति विद् प्रा.डा. कर्णबहादुर बानियाले आदिवासी तथा जनजातिहरुको मातृभाषाको प्रयोगलाई अध्यययन गर्दा जनसङ्ख्याको आधारमा ५० प्रतिशतभन्दा बढी प्रयोगलाई राम्रो, २५ प्रतिशतभन्दा बढी प्रयोग गर्नेलाई सन्तोष जनक र त्यसभन्दा कम वक्ता भएकोलाई अतिकम गरी अध्ययन गरिएको जानकारी दिनुभयो ।
“अध्ययन र विश्लेषण गर्दा चितवनमा बस्ने आदिवासी÷जनजातिहरूका मातृभाषाको वर्तमान अवस्थालाई राम्रो मान्नुपर्छ”, उहाँले थप्नुभयो, “थारु, दरै र ह्योल्मो जातिका मातृभाषाका वक्ताको अवस्था अन्य आदिवासी÷जनजातिहरूको तुलनामा धेरै राम्रो देखिन्छ । किनभने यहाँ थारु मातृभाषाका वक्ता ९४ प्रतिशत छन् । दरै मातृभाषाका वक्ता ८३ प्रतिशत छन् भने ह्योल्मो मातृभाषाका वक्ता ८० प्रतिशत छन् ।”
प्रा.डा. वानियाका अनुसार चितवनमा बस्ने आदिवासी÷जनजातिहरू मध्ये चेपाङ, बोटे, तामाङ र मगर आदि मातृभाषाका वक्ताको अवस्था राम्रो देखिन्छ भने गुरुङ, नेवार, थकाली, दुरा र लिम्बु जातिका मातृभाषाका अवस्था सन्तोषजनक भएको र राई, बराम, कुमाल र भुजेल जातिका मातृभाषाका वक्ताको अवस्था अन्य आदिवासी/जनजातिहरूको तुलनामा अतिकम देखिन्छ ।
चितवनमा ७२ हजार ६५८ थारु रहेकामा ६८ हजार ४९८ जनाले, ८ हजार ८५० जना दरै रहेकामा सात हजार ३२५ जनाले, ह्योल्मोले आफ्नो मातृभाषा बोल्ने प्रा.डा. वानियाले जानकारी दिनुभयो ।
प्रा. डा. वानियाका अनुसार चितवनमा ५४ हजार १८३ जना रहेका तमाङले ६६ प्रतिशत, ४९ हजार ८२७ जना रहेका गुरुङले ४७ प्रतिशत, ४१ हजार ३०६ जना रहेका मगरले ५८ प्रतिशत, ३५ हजार ६३७ जना रहेको चेपाङले ६७ प्रतिशत, ३५ हजार ४५२ जनाको सङ्ख्या रहेको नेवारमा ४१ प्रतिशत, ११ हजार ४०५ जनाको सङ्ख्या रहेको कुमालमा १३ प्रतिशत, ५ हजार ४३७ को सङ्ख्यामा रहेको राईमा २३ प्रतिशत, ७६० को सङ्ख्या रहेको दुरामा ३६ प्रतिशत, ४६३ जनाको सङ्ख्या रहेको याकथुङमा ४५ प्रतिशत, २६९ को सङ्ख्यामा रहेको थकालीमा ४१ प्रतिशत, २८८ जनाको सङ्ख्या रहेको बाकुरामा १९ प्रतिशत ५ हजार ३०१ जनसख्या रहेको भुजेलमाम १० प्रतिशत र ३ हजार १४४ को सङ्ख्यामा रहेको बोटेमा ६७ प्रतिशत मातृभाषा बोल्ने सङ्ख्या छन् ।
इतिहास विद् डा. ईश्वरीप्रसाद लौडारीले कार्यक्रममा आफ्नो अध्ययन प्रतिवेदन पेश गर्दै चितवनका आदिवासीहरूमध्ये तुलनात्मक रूपमा थारू जातिको चेतनाको स्तर एवम् आर्थिक, सामाजिक र शैक्षिक स्थिति सबैभन्दा उच्च रहेको बताउनुभयो ।
“थारू जातिभन्दा कमजोर हालतमा कुमाल र दराईको अवस्था देखिन्छ । चेपाङ र बोटेको अवस्था तुलनात्मक रूपमा सबैभन्दा निम्नकोटिको महसुस भएको छ । एउटै जातिभित्र पनि घोर विषमता रहने भए पनि औसत जातिगत अवस्थालाई आधार मानेर यस निष्कर्षमा पुग्नु परेको हो”, उहाँले भन्नुभयो, “चितवनका आदिवासीहरूका अधिकांश समस्याहरू मिल्दाजुल्दा रहेका छन् । रोजगारी र सुकुम्वासी समस्या, शिक्षामा पहुँचको अभाव, सामाजिक विभेद, सामाजिक कुरीति, भाषा, संस्कृति र कलाकौशल लोप हुने डर, परम्परागत पेसामा सङ्कट, चितवन राष्ट्रिय निकुञ्जसँगको सम्बन्ध आदि साझा समस्याहरू हुन् ।”
प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले चितवनका जनजाति आदीवासीहरुको भाषा आफ्नै मौलिक भएकाले यसको महत्त्व बचाइ राख्न पनि अध्ययन अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले समाज शात्रिय अध्यनले भाषा, कला र संस्कृतिको संरक्षणमा तथा उत्थानमा टेवा पुग्ने विश्वास व्यक्ति गर्नुभयो ।