• १७ फागुन २०८१, शनिबार

छातेढुङ्गा क्षेत्रतर्फ सबैको आकर्षण

blog

आठराई गाउँपालिकामा रहेको छातेढुङ्गा ।

तेह्रथुम समाचारदाता 

तेह्रथुम, फागुन १७ गते । तेह्रथुमको आठराईमा विक्रम संवत् १९८१ माघ १८ मा सुकलाल कन्दङ्वाले निर्माण गर्नुभएको ढुङ्गाको छाता अचेल पर्यटकीय स्थल बन्न थालेको छ । आठराई गाउँपालिका–५ मा रहेको यो छातेढुङ्गा हेर्न तथा यस क्षेत्रमा घुमफिर गर्नका लागि टाढा टाढाबाट पर्यटक आउने गरेका छन् । 

आठराईको पहिचानसँंग जोडिएको छाता जस्तो ढुङ्गा हेर्नका लागि यहाँ आएका छथर गाउँपालिका–३, पञ्चकन्याका फौदराज लिम्बूले भन्नुभयो, “यो ठाउँ निकै रमणीय रहेछ । पुरानो इतिहाससमेत हेर्न पाउँदा निकै खुसी लाग्यो ।”

तेह्रथुमको सदरमुकाम म्याङ्लुङबाट ७५ किलोमिटर पूर्व र पाँचथरको फिदिमबाट १४ किलोमिटर पश्चिममा रहेको यस स्थानमा छाता आकारका ढुङ्गा गाँसिएका छन् । कन्दङवा लिम्बूका पुर्खाले इतिहास बचाइराख्न ढुङ्गाका छाता निर्माण गरी गाढिदिएको र यस ठाउँको नाम पनि छातेढुङ्गा रहन गएको वयोवृद्ध राममणि थपलिया बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “छाता जस्तै ढुङ्गा गाढिएकै कारण हिजोका दिनमा यस ठाँउलाई छातेढुङ्गा गाउँ पञ्चायत, छातेढुङ्गा गाबिस र छातेढुङ्गा मावि भनेर नामकरण गरियो ।” 

कन्दङ्वाका पुर्खाले गाडेको ढुङ्गा जीर्ण भएको र स्थानीय सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा यसको पुनर्निर्माण गरिएको हो । यस ठाउँमा पहिले तीन वटा ढुङ्गा जमिनमा नहल्लिने गरी गाडिएका थिए तर पुनर्निर्माण गरिँदा दुई वटा थपेर पाँच वटा बनाइएको छ । तीमध्ये बिचको सबैभन्दा अग्लो ढुङ्गाको उचाइ साढे सात फिट रहेको छ । यी ढुङ्गाको टुप्पोमा साढे आठ फिट गोलाइको नाङ्लो जस्तो देखिने छाता ओढाइएको भने अन्य चार वटामा केहीँ साना छाता आकारका ढुङ्गा ओढाएका हुन् । यस ठाउँमा घुम्न आउने पर्यटकले वरिपरि नियाल्दै फोटो खिच्ने र मनोरञ्जन लिने गरेका छन् । 

पर्यटन प्रवर्धनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई समेटेर गाउँपालिकाका अन्य ऐतिहासिक तथा पर्यटकीय स्थललाई समेटेर पर्यटन विकासको योजना बनाएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । उहाँले भन्नुभयो, “छातेढुङ्गाको अतिरिक्त झाँव्रmीगुफा, चमेरे ओढार, याकुम्बागढी, बगाले पार्कलगायतका पर्यटकीय क्षेत्रको विकासको काममा लागि परिरहेका छौँ ।” आठराईको पहिचानसँंग जोडिएका पर्यटकीय स्थलको संरक्षण र संवर्धन गर्न सके जिल्लाको मात्र नभएर पूर्वी नेपालको पर्यटकीय क्षेत्रका रूपमा विकास हुने अवस्था छ ।