• १७ फागुन २०८१, शनिबार

राणाको जीवनमा आधारित ‘धनबुबा’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १७ गते  । पूर्वसचिव स्वर्गीय परीक्षित नरसिंह राणाको जीवनीमा आधारित पुस्तक ‘धनबुबा’ को सार्वजनिकीकरण गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले पुस्तक सार्वजनिकीकरण गर्नुभएको हो । 

पुस्तकमाथि प्रकाश पार्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षित राणाले नेपालको प्रशासनिक क्षेत्रमा ठुलो योगदान गरेको बताउनुभयो । उहाँले स्वर्गीय राणाले प्रशासनिक क्षेत्रमा धेरै दुर्लभमध्येका सचिव रहेको जानकारी दिँदै उहाँ जस्ता प्रशासक हुने हो भने देशमा विकासको कायापलट गर्न सकिने बताउनुभयो । परीक्षित राणाले बोकेको सपना पूरा गर्न इमानदारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ । नेता कार्की राणाको साइँलो ज्वाइँ हुनुहुन्छ । परीक्षितको छोरा प्रशन्न नरसिंह राणाले बुवाबारे पुस्तक प्रकाशन गरेर उदारणीय काम गरेको बताउनुभयो । 

पुस्तकमाथि समीक्षा गर्दै पुस्तकका सम्पादक प्राडा करण शाहले परीक्षित नरसिंहले जीवनमा अवलम्बन गरेका इमानदारीका पाइलाहरू सबैका लागि प्रेरणा हुने बताउनुभयो । स्व. राणा अर्थ मन्त्रालयबाट अधिकृतको जागिर सुरु गरेर सचिवबाट सेवानिवृत्त हुनुभएको थियो । उहाँको जीवनीबाट इमानदारी सिक्न सकिने भन्दै उहाँले प्रशासन क्षेत्रमा भ्रष्टाचारविरोधी काम गरेकाले कुनै पनि कार्यालयमा टिक्न नदिएको बताउनुभयो । स्वर्गीय राणा लोकसेवामा बसेर पनि काम गर्नुभएको थियो । शाहले उहाँले जहाँ बसे पनि इमानदारी नछाडेको बताउनुभयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफू २०२३ सालमा १६ वर्षको उमेर हुँदा राणाले कर्मचारी सञ्चय कोषमा जागिर लगाइदिएको स्मरण गर्नुभयो । त्योबेला १३५ रुपियाँ तलब रहेको स्मरण गर्दै राणा जहिल्यै भ्रष्टाचारविरोधी पात्र भएर उभिएको बताउनुभयो । उहाँले सचिव राणालाई राजा महेन्द्र, वीरेन्द्र, सुवर्णशमशेरको पालामा उहाँलाई इमानदार र निष्ठा भएका व्यक्तिका रूपमा लिइने गरेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समीक्षक विमल भौकाजीले स्वर्गीय सचिवको जिवनमा आधारित पुस्तक एक वर्ष लगाएर तयार पारिएको जानकारी दिँदै पाँच भागमा ४० जनाको भनाइलाई स्वर्गीय राणाबारे लेखिएको बताउनुभयो ।