खोटाङ, फागुन १६ गते । जिल्ला सदरमुकाम दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उदघाटन बिहीबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको थियो ।
खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनका विभिन्न स्टलहरू माटिकोरे खेलमैदानमा राखिएको छ । सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी तथा सजावटका सामग्री प्रदर्शनीमा राखिएको छ ।
सम्मेलनमा स्थानीयदेखि अन्तरराष्ट्रियस्तरसम्म व्यापार-व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकारलगायत गरी ५१ वटा स्टल रहेको आयोजकले जनाएको छ । त्यसैगरी मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङलगायतको व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरू, प्रदेशका मन्त्री र सांसदहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुख, जिल्लाका १० वटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा जिल्ला बाहिरबाट मात्र तीन सयभन्दा बढी अतिथिको उपस्थिति रहेको छ ।
बाँस सम्मेलनमा विज्ञहरूबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनको आयोजकहरूमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएसन ललितपुर रहेका छन् । बाँसको प्रवद्र्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाएको छ । प्रथम राष्ट्रिय बाँस सम्मेलनमा अनुमानित ४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सम्मेलनका अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्चपदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्यधिक मात्रामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिङ्गानो बाँस, निगालो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइने गरेका छन् ।
बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरू उत्साहित भएका छन् । बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवं उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोशेलीघरले खरिद बिक्री गर्दै आएको छ । रासस