इस्लामावाद, फागुन १६ गते । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार एक यात्रुवाहक बस दुर्घटना हुदाँ कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
चालिस भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताउनुभयो । घटनालगत्तै मोटरवे प्रहरीसहितको आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको उहाँले थप्नुभयो ।
“घाइतेलाई तत्कालै नजिकैको जिल्ला सदरमुकाममा उपचारका लागि लगिएको हो ।” साथै, अधिकारीहरूले पल्टिएको बसलाई सीधा गर्न क्रेन प्रयोग गरिएको जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ । रासस/सिन्ह्वा