जीवछ यादव
लहान, फागुन १६ गते। बलात्कार भएपछि मृत्यु भएकी नवराजपुर–१ भगवतीपुरकी रिङ्कु सदायको परिवारलाई न्याय दिलाउन दबाब दिन मुसहर समुदायद्वारा लहानमा प्रदर्शन गरिएको छ।
हजारौंको सङ्ख्यामा प्रदर्शनमा सहभागी भएका मुसहर समुदायले हत्यारालाई पक्राउ गरेर रिङ्कु सदायको परिवारलाई न्याय देउ भने प्ले कार्डसहित लहान बजार प्रदर्शन गरेका हुन्।
माघ २७ गते साझ ७ बजेतिर घरभन्दा उत्तरतर्फ शौच गर्न जानुभएकी रिङकुलाई गाउँकै रूपेश मण्डल, चन्दन साह र राम विनय मण्डलले नियन्त्रणमा लिएर बलात्कार गरी बिहान ३ बजेतिर छोडेका थिए।
बलात्कृत भएकी रिङ्कुकी परिवारले सामाजिक न्यायका लागि एक दिनपछि गाउँमा पञ्चायत बसेर गरेको एक लाख ४० हजार दण्ड जरिवाना समेत तीनै युवाका अभिभावकले दिन मानेन्।
न्याय पनि भएन तोकिएको दण्ड पनि नपाएकी रिङ्कु घरमा कोही नभएको समयमा झुण्डिएको अवस्थामा मृत्य फेला परेको थियो।
अहिलेसम्म घट्नामा संलग्न देखिएका तीनै युवकलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रदर्शन गरेर दबाब दिएको मुसहर समुदायका अगुवा गङ्गा सदाय र रामस्वरुप सदायले बताउनुभयो।
प्रहरीमा तीन जनाको नाममा जाहेरी दिँदा इलाका प्रहरी कार्यालयले आत्महत्या प्रोत्साहन मुद्दा एक जनाको नाममा मात्रै दर्ता गरेको थियो। बलात्कारमा संलग्न एक जनालाई पनि पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको मानव अधिकारवादी राजकुमार राउतले बताउनुभयो।
यता प्रहरीले पञ्चायत गरेका तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ भने बलात्कारमा संलग्न रुपेश मण्डल, चन्दन सदाय र राम विनय मण्डल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताउनुभयो।