बुटवल समाचारदाता
बुटवल, फागुन १५ गते । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक स्तरोन्नति आयोजनाको काम निर्धारित मितिमै सम्पन्न गर्न दबाब दिने उद्देश्यले जनस्तरमा नागरिक निगरानी समूह गठन भएको छ । बुटवल–नारायणगढ सडक निर्धारित मितिमै बन्न नसक्दा स्थानीय नागरिकले ठुलो सास्ती पाएको भन्दै बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको अवस्था त्यस्तो नहोस् भन्न समयमै निर्माण कार्य सम्पन्न गराउन दबाब दिने उद्देश्यले जनस्तरमा नागरिक निगरानी समूह गठन भएको हो । सडकको क्षेत्राधिकारभित्र पर्ने पाँच वटै नगरपालिकाको प्रतिनिधित्व हुने गरी इन्जिनियर छविलाल पाठकको संयोजकत्वमा १७ सदस्यीय नागरिक निगरानी समूह गठन गरिएको हो ।
जसमा सहसंयोजकमा महेन्द्र श्रेष्ठ, सचिवमा टेकराज पौडेल तथा सदस्यमा रुद्रलाल उपाध्याय, गङ्गा पोखरेल, दुर्गा गौतम, मुक्तिनाथ ज्ञवाली, कमलराज घिमिरे, टीकाराम उप्रेती, प्रताप गिरी, दोलकराम घिमिरे, नारायणप्रसाद भुसाल, देवीराम घिमिरे, उत्तममणि पौडेल, बालकृष्ण बेल्वासे, विष्णुप्रसाद पौडेल, नेत्रराज अधिकारी, राजेन्द्र सुवेदी र हेमराज सुवेदी रहनुभएको छ ।
भेलाले पाँच वटै नगरपालिकामा पाँच वटा उपसमूह गठन गर्नेसमेत बताइएको छ । समूहलाई आचारसंहिता निर्माण गर्नेदेखि सम्झौतापत्र र विस्तृत परियोजनापत्रको अध्ययन, विवाद समाधान, समन्वय र निर्माणका क्रममा आवश्यक सहयोगसमेत गर्ने जिम्मा दिइएको छ ।
बुटवलदेखि कपिलवस्तुको शिवराज नगरपालिकासम्मका नागरिक भेला भएर गठन भएको निगरानी समूहले पर्यावरणमैत्री सडक निर्माण गर्न आग्रह गर्ने, धुलोरहित वातावरण निर्माण, खानेपानी, विद्युत्लगायतका संरचना फेरबदल गर्दा केही विवाद परे समन्वय गरेर छिटो काम गर्न दबाब दिने समितिका प्रचार संयोजक ऋषि आजादले बताउनुभयो ।
समितिमा वातावरणविद्, उपभोक्ता, व्यवसायी, पत्रकार उद्योगी, पूर्वकर्मचारी, इन्जिनियर, निर्माण व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता रहेको छ । सल्लाहकारमा सडक क्षेत्राधिकारभित्रका पाँच वटा नगरपालिकाका प्रमुख रहने र आतिथ्यमा सङ्घीय सरकारका सांसद र मन्त्री तथा प्रदेश सरकारका सदस्य तथा मन्त्री रहने निर्णय भएको संयोजक छविलाल पाठकले बताउनुभएको छ ।