कमल शर्मा
दैलेख, फागुन १५ गते । पछिल्लो सयम पुख्र्यौली थातथलो खोज्दै दैलेखमा आउने बढ्दै गएका छन् । दैलेख जिल्ला ३२ जातजातिको उद्गम थलो हो । किंवदन्ती अनुसार पुर्खाले छाडेर गएको थातथलो खोज्दै दैलेख आउने क्रम बढ्दै गएको छ ।
दैलेखमा मङ्गलबार मात्र दुल्लु नगरपालिका–५, रिजुपोखरामा भएको विन्ध्यवासिनी मन्दिरको पूजा गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतको जम्बो टोली उक्त स्थानमा पुगेको छ । दुल्लु नगरपालिका–५, रिजुमा रिजाल थरका धनञ्जय गोत्री वन्धुहरूको आदिभूमि तथा उद्गम स्थल रिजुमा नेपालकै चर्चित वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको संयोजकत्वमा उक्त टोली दैलेख पुगेको हो ।
रिजाल बन्धुको अनुष्ठान व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र रिजालले रिजाल वंशावलीका आधारमा गढवाल, कुमाउ, बैतडी, डोटी हुँदै अछाममा पहिलो पटक प्रवेश गरी दुल्लु बसेको र दुल्लुबाट विभिन्न जिल्लामा फैलिएका कारण पहिलो पटक रिजालबन्धु दुल्लुको रिजुमा जम्मा भएको बताउनुभयो । उहाँले रिजाल बन्धुबाट देशका विभिन्न जिम्मेवारीमा रहेका नेता, डाक्टरलगायतको टोलीले पुख्र्यौली थातथलोमा पूजा गर्ने उद्देश्ले धार्मिक अनुष्ठान आयोजना गरिएको जानकारी दिनुभयो । विन्ध्यवासिनी माई भगवती माईलाई कुल देवीका रूपमा पूजा गर्ने भएका कारण मन्दिर परिसरमा धार्मिक अनुष्ठान लक्ष्यदीपसहित ३५ फिट अग्लो त्रिशूलसमेत स्थापना गरिएको छ ।
एमालेका नेता तथा पूर्वसंविधान सभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले दैलेख ३२ जातजातिको उद्गम स्थल भएकाले विभिन्न समयमा विभिन्न जातका व्यक्ति दैलेख आउने गरेको बताउनुभयो । उहाँले केही समयअघि चुनावी अभियानमा एमालेका नेता ईश्वर पोखरेलसमेत दुल्लु पुगेको बताउनुभयो ।
त्यस्तै २०७३ सालमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दैलेखको दुल्लु नगरपालिका–३ मा रहेको नेपा गाउँमा पुग्नुभयो । कुलदेवतालाई पूजा गर्ने दुल्लु नगरपालिका–३ नेपा पुग्नुभएका नेपालले आफ्नो पुर्खाको थातथलो दुल्लु भएको भन्दै पूजा गर्न दैलेख पुगेको बताउनुभएको थियो । २०६९ सालमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला दुल्लुमा रहेको कोइराला गाउँमा पुगेर आफ्नो जन्मभूमि यहीँ रहेको र दुल्लुको कोइराला गाउँबाट आफ्ना पुर्खा विभिन्न भूभागमा गएको बताउनुभएको थियो ।
दुल्लु नगरपालिका–१२ मा रहेको दहगाउँमा गत जेठ ३१ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुख्र्यौली थलो पुग्नुभएको थियो । दैलेखको दुल्लु नगरपालिका–१२, दहगाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको वत्सगोत्रीय दाहाल, लम्साल, रूपाखेती, कुँवर, राणा परिवारका आदि पुरुष कुल शिरोमणि दासुको सालिक (प्रतिमा) अनावरण गर्न पुख्र्यौली गाउँदहमा पुग्नुभएको थियो ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले दुल्लु नगरपालिका–५ मा रिजुबाट देशका विभिन्न भूभागमा छरिएर बसेका रिजालबन्धु जन्मथलोतिर आउनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । दैलेखको दुल्लु गाउँबाट दुलाल, बाँसीबाट बस्याल, बडबाट बडुवाल, बराल, लम्जीबाट लम्जेल, नेपाबाट नेपाल, कोइरालगाउँबाट कोइराला, लयाँटीबाट लुइटेल, भुर्तीबाट भुर्तेल, दबाडाबाट दबाडी, पराजुलबाट पराजुली, दहबाट दाहाल, कट्टीबाट कट्टेल, रिजुबाट रिजाल, हुमेगाउँबाट हुमागाईं रहेको भन्ने गरिन्छ ।
दैलेखमा रहेको ऐतिहासिक पुरातात्त्विक सम्पदाको अवलोकन गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीयले बताएका छन् । दैलेखको इतिहासबारे जानकार जिल्ला विकास समितिका पूर्वसभापति टेकबहादुर खाँणले आफ्नो पुख्र्यौली थलो सम्झेर आउने क्रम जारी रहेको बताउनुभयो ।