धनगढी समाचारदाता
धनगढी, फागुन १५ गते । विश्वमा डाइनोसरपछि तीव्र गतिमा लोप हुने क्रममा रहेको गिद्धको अवस्था नेपालमा थोरै सुधारोन्मुख देखिएको छ । सरकारी निकायसहित विभिन्न सरोकारवाला सङ्घ संस्थामार्फत भइरहेको संरक्षणका क्रियाकलापका कारण गिद्धको अवस्था सुधारोन्मुख देखिएको हो । गिद्धको अवस्थामा सुधार हुँदै गएपछि गुँडको सङ्ख्या पनि बढ्दो क्रममा रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) द्वारा धनगढीमा आयोजित कार्यक्रममा जनाइएको छ ।
सो संस्थाका अनुसार सन् २००८ तिर नेपालमा गिद्धको गुँडको सङ्ख्या ४० देखि ५० वटासम्म रहेको थियो । २०२२ सम्म आइपुग्दा गुँडको सङ्ख्या पाँच सय बढी रहेको जनाइएको छ । सुदूरपश्चिममा मात्रै १५० भन्दा बढी गिद्धको गुँड भेटिएको बिसिएनका परियोजना अधिकृत भूपाल नेपालीले बताउनुभयो । “विगतको तुलनामा हालको अवस्था सुधारोन्मुख देखिएको छ,” उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै एक सय बढी गुँड भेटिएका छन् ।” गिद्धले गुँडमा एउटा मात्रै अन्डा पार्ने र एक वर्षमा एउटा मात्रै बच्चा कोरल्ने गरेको जनाइएको छ ।
सन् २००२ देखि २०११ सम्मको अध्ययनले डङ्गर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशत लोप भएको देखाएको थियो । प्रकृतिको कुचिकार मानिने गिद्ध तीव्र गतिमा लोप हुन थालेपछि नेपाल सरकारले नेपालमा २०६३ जेठ २३ गतेबाट डाइक्लोफेनेक औषधीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । यो औषधी प्रयोग गरिएको घरपालुवा जनावरको सिनो खाँदा गिद्ध मर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको थियो । त्यसपछि अन्य देशमा पनि डाइक्लोफेनेक निषेध गरिएको छ । गिद्धले पारिस्थितिकीय प्रणाली सन्तुलित राख्ने काम गर्छन् ।
नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमध्ये रैथाने मानिने सुन गिद्ध, डङ्गर गिद्ध र सानो खैरो गिद्ध अति सङ्कटापन्न मानिन्छन् । यो प्रजातिको गिद्धको नेपालमा सङ्ख्या क्रमशः ५००, दुई हजार र ७५ रहेको जनाइएको छ । यसै गरी रैथानेमै पर्ने सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध सङ्कटको नजिक रहेका बताइएको छ ।
नेपालमा खैरो गिद्ध, राज गिद्ध र लामो ठुँडे गिद्ध पाहुना गिद्ध मानिन्छन् । अति सङ्कटापन्न सूचीमा रहेका यी प्रजातिका गिद्ध घुम्दै आउने गरेको जनाइएको छ । नेपालमा डाइक्लोफेनेक बिक्री वितरण र प्रयोगमा निषेध गरिए पनि किटोप्रोफेन, निमेसुलाइडलगायतका औषधी अझै प्रयोग भइरहेका कारण संरक्षणमा अझै पनि चुनौती रहेको बिसिएनका फिल्ड अफिसर हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँले सुदूरपश्चिममा रहेका गिद्धहरू बच्चा हुर्काउने बेला पनि नेपाल, भारतको विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्ने गरेको देखिएको उल्लेख गर्नुभयो । “अहिले गौरक्षा केन्द्र रहेका क्षेत्रतिर गिद्धको उपस्थिति र गुँडको अवस्था राम्रो भएको देखिन्छ,” उहाँले भन्नुभयो ।
नेपालमा गिद्ध संरक्षणका लागि विभिन्न सात स्थानमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गरिएको छ । जसले गिद्ध संरक्षणमा सहयोग पुगेको जनाइएको छ । कार्यक्रमका सहभागीले पनि गिद्ध संरक्षणमा सरोकारवाला सबैको हातेमालो हुनुपर्ने औँल्याएका छन् । नेपालमा पाँच वर्षीय कार्ययोजना बनाएर गिद्ध संरक्षण भइरहेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवं वन अधिकृत भरत श्रेष्ठले चराले गुँड लगाएको रुख काट्न कानुनले पनि बन्देज गरेको उल्लेख गर्नुभयो । संरक्षणकर्मी विजयराज श्रेष्ठले कैलालीमा विगतमा गरिएको गुलेली सङ्कलन अभियानले चरा संरक्षणमा सहयोग पुगेको बताउनुभयो ।