सिराज खान
नेपालगन्ज, फागुन १४ गते । एउटा विद्यालयको वार्षिक खेल दिवसमा ५० भन्दा बढी खेलकुद विधामा हजार भन्दा बढी विद्यार्थीले प्रतिष्पर्धा गरेको सुन्दा आश्चर्य लाग्न सक्छ ।
तर, नेपालगन्जमा रहेको चर्चित विद्यालय सोफिया रेजिडेन्सियल इङ्गलिस स्कुलको १८ औँ वार्षिक खेल दिवसमा ५० भन्दा बढी खेलकुद प्रतियोगिताको आयोजना गरेर विद्यालयका हजार बढी बालबालिकालाई प्रतिष्पर्धा गराइएको छ ।
स्कुलको सुविधासम्पन्न खेल मैदानमा सम्पन्न गरिएको खेलकुद दिवसमा आयोजना गरिएका विभिन्न प्रतियोगितामा सबैभन्दा बढी पदक र अङ्क प्राप्त गरेर ब्लु हाउसले उपाधी जित्न सफल भई च्याम्पियन बनेको स्कुलका प्रधानाध्यापक सुरेश गुरुङले बताउनुभयो ।
उहाँले एथलेटिक्स, मार्चपास लगायतमा राम्रो प्रदर्शन गरेको सो समूहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल भएको बताउनुभयो । प्रतियोगितामा दोस्रो ग्रिन हाउस र तेस्रो एल्लो हाउस भएको स्कुलले जनाएको छ ।
विभिन्न खेलहरूमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष केबी बसेल, प्रबन्ध निर्देशक सुशीला बसेल, प्रिन्सिपल सुरेश गुरुङ, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताल, पत्रकारहरू आलम खान, गजेन्द्र गुरुङ र शंकर खनाल लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री अग्रवालले नेपालमा खेलको विकासमा विद्यालयहरूको भूमिका सबैभन्दा अहम भएको बताउनुभयो । उहाँले विद्यालयबाटै खेलमा राम्रो गर्ने खेलाडीले पछि गएर देशका लागि राष्ट्रिय र अन्तराष्ट्रिय पदक प्राप्त गर्ने बताउनुभयो ।
कार्यक्रममा पिजी कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा भाग लिएको विद्यालयकी शिक्षिका रीता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक माता पिता, शिक्षक, शिक्षिकाहरूले पनि दौड प्रतियोगितामा भाग लिएको र उहाँहरूलाई समेत मेडल प्रदान गरिएको थियो ।
प्रतियोगितामा विभिन्न दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबड्डी, फुटबल, क्रिकेट, खोखो, चेस, डोरी तान्ने खेल लगायतका खेलहरू समावेश गरिएको थियो । विद्यार्थीलाई ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रिन हाउस गरी चार वटा समूहमा विभाजन गरेर खेल प्रतियोगितामा सहभागी गराइएको थियो ।