नवीनराज कुइँकेल
लमजुङ, फागुन १४ गते । महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
मन्दिरमा रहेको शिवलिंगमा बेलपत्र र दूध चढाउन, पूजा अर्चना गरी बत्ती बाल्न र दर्शन मात्र गर्नका लागि बिहान चार बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको हो ।
सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने इशानेश्वर महादेव मन्दिरमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजनहरु आउने गर्दछन् । महाशिवरात्रि पर्वका अवसरमा यहाँ दूध चढाउने र ठाडो बत्ती बाल्ने चलन छ ।
इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वासले मन्दिरमा ठुलो संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्दछ । शिवको पुजा आराधना गर्न टाढाटाढाका भक्तजनहरु इशानेश्वरमा आएका छन् । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले शिवको पूजा अर्चना गर्दा लाभ मिल्ने विश्वासका साथ युवा युवतीदेखि वृद्धवृद्धा समेत करापुटार आइपुगेको स्थानीय सुरज गुरुङले जानकारी दिनुभयो ।
भक्तजनको संख्या अघिल्लो बर्षको तुलनामा यसवर्ष वृद्धि भएको करापुटार क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लमजुङसँगै तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनदेखि काठमाडौँबाट पनि ठूलो संख्यामा भक्तजन आएका छन् ।
“मन्दिर दर्शन र पुजाआज गर्नका लागि गण्डकी प्रदेशका मन्त्रीहरु, सांसदहरु, विभिन्न जिल्लाका पालिकाका जनप्रतिनिधि, उच्चपदस्थ कर्मचारीहरु पनि आइपुग्नुभएको छ”, इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले भन्नुभयो, “सर्वसाधारण भक्तजनहरुको त विहान चार बजेदेखि नै घुइँचो लागेको छ ।”
लामो समयसम्म सन्तान नभएका सयौं दम्पतीहरु मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडो बत्ती बल्दा सन्तान लाभ हुने विश्वास गदर्छन । रातभर उठेर र बसेर बत्ती बाल्नेहरु हजारौंका संख्यामा हुन्छन् ।
इशानेश्वर महादेवको बरदानपछि सन्तान लाभ भएपछि मन्दिरमा आई महादेवलाई सन्तान देखाउनेहरु पनि थुप्रै भेटिन्छन् । विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्न धेरै भक्तजनहरु मन्दिरमा आउने गरेको समितिका पूर्व अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनुभयो ।
ईशानेश्वर महादेवको उत्पत्ति एवं उत्खननका सन्दर्भमा हिन्दु धर्मग्रन्थका विभिन्न पुराणहरूमा यसको महिमा उल्लेख छ । हिन्दु धर्मशास्त्रको स्वस्थानी ब्रतकथामा उल्लेख गरिए अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा महेन्द्रगिरिमा पुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको थियो ।
सोही महेन्द्रगिरि ईशानेश्वरको चिसंकुलाई भनिएको संस्कृतिविद्हरुको भनाइ छ । त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अद्र्धगामिनी, योगिनी, तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिको स्वरुपमा रहेको धार्मिक विश्वास छ ।
सोही रत्नभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाइ सेवा गर्नुभयो । लक्ष्मीले कात्तिक कृष्ण अमावश्याको दिन सम्पूर्ण लोकले पूजा गरी सम्मान गरुन् भनी आशिष मागेको र ईश्वरी प्रसन्न भई तथास्तु भनेर बरदान दिएको धार्मिक किंवदन्तीमा पाइएको इशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले बताउनुभयो । सोही समयदेखि ईशानेश्वर महादेवलाई तारकेश्वर महादेवको रुपमा समेत पूजाआजा गरिँदै आएको छ ।