• १४ फागुन २०८१, बुधबार

‘प्रकृतिको कुचिकार गिद्ध संरक्षण गर्नुपर्छ’

blog

गिद्ध संरक्षणबारे छलफल गरिँदै । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १४ गते । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्नुपर्ने विषयमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वबाट गिद्ध तीव्र गतिमा लोप हुने क्रममा रहेकाले नेपालमा पाइने गिद्ध संरक्षणमा सरोकारवालाले जोड दिएका हुन् ।

नेपाल पन्छी संरक्षण संघ (बिसीएन) को आयोजनामा भएको कार्यक्रममा गिद्धले पारिस्थितिकीय प्रणाली सन्तुलित राख्न सहयोग गर्ने गरेका कारण यो प्रजातिलाई जोगाउन आवश्यक रहेको बताउनुभयो ।  

संरक्षणकर्मी विजयराज श्रेष्ठले गिद्धलाई जोगाउन सरोकारवाला सबै जुर्मुराउन आवश्यक रहेको बताउनुभयो । उहाँले कैलालीमा विगतजस्तै गरिएको गुलेली सङ्कलन अभियानले चरा संरक्षणमा सहयोग पुगेको उल्लेख गर्नुभयो । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता एवम् वन अधिकृत भरत श्रेष्ठले चराले गुँड लगाएको रुख काट्न कानुनले पनि बन्देज गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मातहतका निकायले गिद्धसहित चरा संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिनुभयो । 

नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमध्ये रैथाने मानिने सुन गिद्ध, डङ्गर गिद्ध र सानोखैरो गिद्ध अति सङ्कटापन्न मानिन्छन् । यो प्रजातिको गिद्धको नेपालमा सङ्ख्या क्रमशः ५००, दुई हजार र ७५ रहेको जनाइएको छ । यसैगरी, रैथानेमै पर्ने सेतो गिद्ध, हिमाली गिद्ध, हाडफोर गिद्ध सङ्कटको नजिक रहेको बताइएको छ । 

नेपालमा खैरो गिद्ध, राज गिद्ध र लामोठुँडे गिद्ध पाहुना गिद्ध रहेको मानिन्छ । अति सङ्कटापन्न सूचीमा रहेको यी प्रजातिका गिद्ध घुम्दै आउने गरेको जनाइएको छ । पछिल्लो समय नेपालमा गिद्धको अवस्थामा थोरै सुधार भएको बिसीएनका परियोजना अधिकृत भूपाल नेपालीले बताउनुभयो । 

उहाँका अनुसार सन् २००८ तिर नेपालमा गिद्धको गुँड सङ्ख्या ४० देखि ५० वटासम्म रहेको थियो । २०२२ सम्म आइपुग्दा गुँडको सङ्ख्या पाँचसय बढी रहेको जनाइएको छ । सुदूरपश्चिममा मात्र १५० भन्दा बढी गिद्धको गुँड भेटिएको नेपालीले बताउनुभयो । गिद्धले गुँडमा एउटा मात्र अण्डा पार्ने र एक वर्षमा एउटा मात्र बच्चा कोरल्ने गरेको बताइन्छ ।  

सन २००२ देखि २०११ सम्मको अध्ययनले डङ्गर गिद्ध ९१ प्रतिशत र सानोखैरो गिद्ध ९६ प्रतिशत लोप भएको देखाएको थियो । गिद्ध तीव्र गतिमा लोप हुन थालेपछि नेपाल सरकारले नेपालमा २०६३ जेठ २३ गतेदेखि डाइक्लोफेनेक औषधी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । 

यो औषधी प्रयोग गरिएको घरपालुवा जनावरको सिनो खाँदा गिद्ध मर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको थियो । त्यसपछि अन्य देशमा पनि डाइक्लोफेनेक निषेध गरिएको छ । गिद्धले पारिस्थितिकीय प्रणाली सन्तुलित राख्ने कार्य गर्दछन् । 

नेपालमा डाइक्लोफेनेक बिक्री वितरण र प्रयोगमा निषेध गरिए पनि किटोप्रोफेन, निमेसुलाइड लगायतका औषधि अझै प्रयोग भइरहेका कारण संरक्षणमा अझै पनि चुनौती रहेको बिसीएनका फिल्ड अफिसर हिरुलाल डङ्गौराले बताउनुभयो । नेपालमा गिद्ध संरक्षणका लागि विभिन्न सात स्थानमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गरिएको छ । जसले गिद्ध संरक्षणमा सहयोग पुगेको जनाइएको छ ।