• १४ फागुन २०८१, बुधबार

अवैध रूपमा माटो बिक्री वितरण

blog

बाँकेको खजुरा गाउँपालिका ७ मा सरकारी जग्गाबाट माटो बिक्री वितरण गरेपछि भएको खाल्डो । तस्बिर ः गोविन्द

गोविन्द शर्मा

बाँके, फागुन १४ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित बर्गदही गाउँ नजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी प्रति जग्गाको माटो जथाभावी निकालेर बिक्री वितरण भइरहेको छ । 

माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् । पूर्व वडाध्यक्ष अति उल्ला खाँले नेपालगन्ज–गुलरिया चार लेन सडक निर्माणको समयमा समेत माटो नझिकिएको सो स्थानमा जथाभावी माटो निकाल्दा वर्षायाममा डुबानको जोखिम बढेको बताउनुभयो ।

 दैनिक २ वटा एक्साभेटर र १५।१५ वटा टिप्परको प्रयोग गरी सरकारी जग्गाको माटो निकाली नजिकै निर्माण भइरहेको बिस्कुट उद्योगमा प्रयोग गरिएको स्थानीय बासिन्दाले जनाएका छन् ।

यसैबिच स्थानीय बासिन्दाले सरकारी ऐलानी जग्गाको माटो निकाल्ने कार्य तत्काल बन्द गर्न र संलग्नलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी दायर गरेका छन् । 

उजुरीमा सरकारी जग्गाको माटो बिक्री वितरण गर्ने कार्यमा वडाध्यक्ष रामगोपाल यादव, इँटा भट्टा सञ्चालक नरेश यादव असलम भाट सहितका सात जनाको संलग्नता रहेकाले उनीहरूमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामगोपाल यादवले केही भूमाफियाको संलग्नतामा सरकारी जग्गाको माटो जथाभावी निकालिएको स्वीकार गर्दै पालिका अध्यक्ष, उपाध्यक्ष सहितको टोलीले स्थलगत निरीक्षण गरी माटो निकाल्ने कार्य बन्द गराएको बताउनुभयो । 

वडाध्यक्ष यादवले भन्नुभयो,‘ १।२ जनाले नियमानुसार सिफारिस लिएर माटो निकालिरहँदा अन्य भूमाफिया मिसिएर जथाभावी माटो निकालेका हुन, अहिले सो काम पूर्ण रूपमा रोकिएको छ । ’ वडाध्यक्ष यादवले आफूहरू सरकारी सम्पत्तिको संरक्षणका लागि क्रियाशील रहेको भन्दै जथाभावी माटो निकाल्ने कार्यमा संलग्नता नरहेको दाबी गर्नुभयो ।