• १४ फागुन २०८१, बुधबार

भेडा बाख्रा व्यावसायी गर्ने बढे

blog

सिमिकोट– ८ को लिगुडे खेतमा पालन गरिएका भेडा बाख्राको बथान । तस्बिर : राजन

राजन रावत

हुम्ला, फागुन १४ गते । भेडा बाख्रा पालन व्यवसाय वृद्धि भएको छ । यो व्यवसायबाट आर्थिक आम्दानी हुन थालेपछि किसानहरू यसको व्यावसायिक पालनमा फर्कनु भएको हो । 

सिमकोट गाउँपालिका– ८ को साँताको लिगुडे खेतमा भेडा बाख्रा पालक किसान प्रेमबहादुर मल्लले छोडी सकेको पेसालाई सुरु गरेको बताउनुभयो । १२० वटा भेडा बाख्रा भएका मल्लले यसबाट आम्दानीको श्रोतका साथै खेतीका लागि गोठे मल पनि उत्पादन हुने भएको कारण यो व्यवसायमा फर्किएको बताउनुभयो । अघिल्लो वर्ष एक सय वटा भेडा बाख्रा किनेर मल्लले यसको व्यावसायी पालन सुरु गर्नु भएको हो । यस वर्ष बिस वटा वृद्धि भएका छन् । उहाँको गाउँमा एक हजार नौ सय भेडा बाख्रा हाल पालन हुँदै आएका छन् । केही दिन अगाडि मात्र सो वडाका व्यावसायी जग्गा बुढाले एक सय भेडाबाख्रा किनेर पालन सुरु गर्नु भएको छ । 

त्यसैगरी सिमिकोट गाउँपालिका– ७ का जयबहादुर शाहीले पनि पछिल्लो दुई वर्षयता भेडा बाख्रा पालन व्यवसाय फस्टाई रहेको बताउनुभयो । पहिले भोटबाट नुन र औलबाट चामल ढुवानी कै लागि भेडा बाख्रा पालन हुने गरेको भए पनि अब भने प्रत्यक्ष रूपमा आर्थिक कमाइका लागि यो व्यवसाय गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले यो व्यवसायबाट आर्थिक उपार्जन गर्न सहज भएको कारण पनि किसानहरू व्यवसयिक रूपमा पालनमा लाग्ने सङ्ख्या बढेको उहाँले बताउनुभयो । 

सिमिकोट गाउँपालिका पशु स्वास्थ्य शाखाका नायव पशु प्राविधिक विष्णु बुमीले गाउँपालिका भर चौध हजार ५४५ वटा भेडा बाख्रा रहेको बताउनुभयो । जब कि दुई वर्ष अगाडिसम्म नौ हजार भेडा बाख्रा उक्त गाउँपालिकामा रहेका थिए । उहाँले एक्कासि भेडाबाख्रा पालनमा किसानहरू आकर्षित हुनुमा प्रत्यक्ष रूपमा कमाइ हुने र मल पनि उत्पादन गर्न सकिने भएको कारण भेडा बाख्रा पालनमा आकर्षित भएको बताउनुभयो । अर्को कुरा शाखाले वर्षको दुई पटक गोठ गोठमा पुगेर भेडा बाख्राको उपचार गर्ने भएको कारण रोगबाट बचाउन पनि सहज भएकोले भेडा बाख्रा पाल्ने सङ्ख्या वृद्धि भई रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले अनुदानमा पनि भेडा बाख्रा सहयोग गर्दै आएको छ । एउटा भेडाको मूल्य हुम्लामा पैँतीस हजारसम्म पर्छ भने खसीको पनि तौल हेरेर तीन हजारसम्म पर्ने गरेको छ । सिमिकोट गाउँपालिकाको वडा नम्बर ४ बाहेक अन्य सबै वडामा व्यवसायी रूपमा किसानहरू भेडा बाख्रा पालनमा लाग्न थाल्नु भएको छ ।