नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन १४ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र देशको समस्या समाधानका लागि कांग्रेस, एमाले गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले सरकारले आफ्नो उद्देश्य अनुरूप काम गरिरहेको जनाउँदै आगामी निर्वाचनसम्म कांग्रेस–एमाले गठबन्धन जारी रहने बताउनुभयो । उहाँले सहमति अनुसार २०८४ सालको निर्वाचन नेपाली कांग्रेसका सभापतिको नेतृत्वको सरकारले गराउने जनाउँदै यो सरकार सफल बनाउन सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्नुका साथै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गरिरहेको बताउँदै उपप्रधानमन्त्री सिंहले सरकारले देश र जनताको उन्नतिका लागि अहोरात्र काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण भएसंगै प्रतिपक्षीहरूले सरकार टिक्दैन भनेर हल्ला गर्दै आए पनि सात महिना बितिसकेको र झन् बलियो तथा सुदृढ भएर सरकारले काम गरिरहेको छ ।” कसैले होहल्ला गर्दैमा सरकारको स्थायित्वमाथि कुनै पनि प्रभाव नपर्ने र आगामी निर्वाचनसम्मै यो गठबन्धन कायम रहने दाबी उपप्रधानमन्त्री सिंहले गर्नुभयो । नेपाली कांग्रेस एकढिक्का भयो भने कांग्रेसले बहुमत ल्याउने प्रस्ट पार्दै उहाँले अहिलेबाटै कांग्रेसका सबै नेता कार्यकर्ताले स्थानीयस्तरमा देखिएका सबै प्रकारका विवाद समाधान गरेर एकढिक्का भई अगाडि बढ्न निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले देशमा हालसम्म भएका सबै ठुला ठुला आन्दोलन र विकासनिर्माणको नेतृत्व नेपाली कांग्रेसले नै गरेको जनाउँदै उहाँले अहिले पनि देशमा स्थायित्व कायम गर्दै आर्थिक तथा भौतिक विकासका लागि कांग्रेसले नै एमालेसँग मिलेर काम गरिरहेको बताउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सङ्घीय सांसद किशोरसिंह राठौरले देशमा केही पनि भएको छैन र देश नै समाप्त हुन लाग्यो भन्ने कुरा गलत भएको जनाउँदै त्यस्ता गलत भाष्यका पछाडि नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, संविधान सभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपाल अधिकारीलगायतका नेता कार्यकर्ताले पनि वर्तमान अवस्थाका बारेमा आआफ्ना धारणा र जिज्ञासा राख्नुभएको थियो ।