ललित बसेल
सुर्खेत, फागुन १४ गते । सुर्खेतको बुलबुले तालमै गुरुयोजना अनुसार अर्को सानो ताल बन्ने भएको छ । कर्णाली प्रदेश सरकारले अहिलेको गुरुयोजना अनुसारको अहिलेको डुङ्गा सञ्चालन भएको तालदेखि उत्तरतर्फ अर्को सानो ताल बनाउने छ । सो तालको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शिलान्याससमेत गर्नुभएको छ ।
गुरुयोजना अनुसार बन्ने ताल निर्माणको कार्यान्वयन भू तथा जलाधार व्यवस्थापन कार्यालयले गर्ने छ । कार्यालयका अनुसार प्रवीण निर्माण सेवाले एक करोड १२ लाख ३६ हजार ८६३ रुपियाँमा ताल निर्माणको जिम्मा पाएको छ । कार्यालय डिभिजनल जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईंले सो काम २०७२ असार १० गतेभित्र निर्माण गरिसक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको बताउनुभयो ।
अहिलेको सानो ताल बुलबुल ताल र डुङ्गा सञ्चालन भएको ठुलो तालको बिचमा करिब चार हजार दुई सय वर्गमिटर क्षेत्रफलको अर्को नयाँ ताल बन्ने छ । सो क्षेत्र अहिले खुलानाला जस्तो बनेको छ । अधिकृत चपाईंले खुला नालालाई अर्को ताल बनाउने गरी काम थालिएको जानकारी दिनुभयो । अब निर्माण हुने ताललाई कमलको फूल र हाँस विचरण गर्ने गरी बनाइने छ ।
चार हजार दुई वर्गमिटरकै वरिपरि पर्खाल निर्माण हुनुका साथै फुटपाथ व्यवस्थापन गरी त्यसमा ब्लक बिछ्याउनेलगायतका काम गरिने उहाँले बताउनुभयो । सो ताल बनेपछि बुलबुले थप आकर्षित हुने छ भने बुलबुलेको पानी रिचार्जसमेत हुने उहाँले बताउनुभयो । अहिले उक्त स्थान अव्यवस्थित रहेको, जोखिमपूर्ण रहेकाले यस बजेटबाट ताल निर्माण गरी पानी संरक्षणको काम हुनुका साथै सौन्दर्यीकरणसमेत टेवा पुग्ने विश्वास लिइएको उहाँले जनाउनुभयो ।