शरीरका रक्तनलीको भूमिका सर्वोपरि हुन्छ । सफा र स्वस्थ रक्तनलीले व्यक्तिको सर्वाङ्गीण स्वस्थ आयामलाई सकारात्मक योगदान दिइरहेको हुन्छ । आधुनिक विकासमा सडकले समग्र विकासमा शरीरका रक्तनली जस्तै काम गरिरहेको हुन्छ । देशको विकासमा सडक यातायातको सर्वोपरि भूमिका हुन्छ । सहज सडक र दु्रत राजमार्गले मानिसको सहज आवतजावतलाई छोटो समयमा पूरा गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष त व्यापार व्यवसायलाई तीव्रता दिन सडक यातायातको भूमिका महìवपूर्ण छ । विकसित देशले सडक यातायातमा दशकौँअघि नै ठुलो प्रगति गरे । सडक पूर्वाधार विस्तारले कतिपय मुलुकको आधुनिक विकासलाई अग्रता दियो । नेपालमा सडक यातायातको विकास तुलनात्मक रूपमा निकै पछि मात्र हुन थाल्यो । हिमाली तथा पहाडी भूभाग भएर पनि सडक सञ्जाल विकासमा अनेक चुनौती छन् । त्यस्ता चुनौती चिर्दै नेपालले पनि आन्तरिक सडक यातायातमा बिस्तारै प्रगति गर्दै छ । अझ महत्वपूर्ण पक्ष त फराकिला सडकबाट छिमेकी मुलुकसित जोडिँदै दक्षिण एसिया तथा समग्र एसियाकै राजमार्ग सञ्जालमा जोडिन अगाडि बढेको छ ।
छिमेकी मुलुकसँगै एसियाली मुलुकबिच सडक सञ्जाल जोडिनु सजिलो कार्य होइन तर आवश्यक छ । फराकिला सडकले निर्बाध आवतजावत तथा व्यापार विस्तारमा सहज हुने छ । नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग अर्थात् एसियन हाइवेको निर्माणले केही गति लिन थालेको छ । राजमार्ग सञ्जाल जोडिनका निम्ति भने दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रमले साथ दिएको छ । सो कार्यक्रम अन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड र कञ्चनपुर–कमला खण्डमा निर्माणाधीन राजमार्ग प्रगतिउन्मुख छ । राजमार्गको त्यस खण्डमा ठेक्का सम्झौतापछि काम सुरु भएको एक वर्षमा भौतिक प्रगति १२ प्रतिशत पुगेको छ । असारसम्म २० देखि २५ प्रतिशतसम्म काम सक्ने लक्ष्य राखिएको छ । एसियाली विकास बैङ्क (एडिबी) ले एसियाली मुलुकलाई फराकिलो राजमार्गले जोड्न सहयोग गरिरहेको हुन्छ । त्यस खण्ड निर्माणका लागि २०८० माघ १९ मा ठेक्का सम्झौता भएको थियो भने निर्माण अवधि तीन वर्षको रहेको छ ।
सासेक कार्यक्रम अन्तर्गत एडिबीको सहुलियत ऋण सहयोगले एसियाली मुलुकमा अन्तरदेशीय सडक विस्तारमा ठुलो योगदान पुगेको छ । एसियाली मुलुकबिच अन्तरदेशीय सडक विस्तार यताका दशकको उपलब्धि नै हो । दक्षिण एसियाली मुलुक अर्थात् सार्कबिच कुल व्यापारको पाँच प्रतिशत मात्र अन्तरदेशीय व्यापार छ । यो सीमित व्यापारले लगानी, उत्पादन र व्यापारमा ठुलो सङ्कुचन रहेको छ । अन्तरदेशीय व्यापार विस्तार हुँदा लगानी, उत्पादन, रोजगारीमा व्यापाक वृद्धि आउन सक्ने देखिन्छ । नेपाल एसियाली राजमार्गमा जोडिनु भविष्यमा व्यापार विस्तारका निम्ति सुखद अवसर पनि हो । त्यस क्रममा नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै अब्बल खालको एसियाली राजमार्गमा नेपाल जोडिएको छ । सो पुलको लम्बाइ ७९० मिटर छ । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । अहिले पूर्व र पश्चिम गरी दुई खण्डमा काम भइरहेको छ । दुई वटै खण्डको कुल लम्बाइ ९५.७६ किलोमिटर छ । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्डमा पर्छ । सीतापुरीदेखि सुनसरीको देवीखोलासम्म रहेको पश्चिमी खण्डको लम्बाइ ५०.७६ किलोमिटर छ । यसलाई तीव्र गतिमा थप विस्तार गरिनु भने आवश्यक छ ।
दक्षिणी छिमेकी मुलुक भारतसित जोड्ने पूर्वपश्चिम राजमार्गले नेपालमा एसियाली राजगार्गको काम गर्ने छ । त्यसै गरी उत्तरी छिमेकी चीनसित जोड्दै आएको अरनिको राजमार्ग पनि एसियाली राजमार्गमा पर्ने छ । पूर्वपश्चिम राजमार्ग एसियाली राजमार्गको रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत राखिएको छ । अन्तर्राष्ट्रियस्तरको राजमार्गमा सहज पहुँचका निम्ति नेपालले अझै धेरै मेहनत गर्नुपर्ने छ । विज्ञका अनुसार नेपालका सडक अझै पनि व्यापक तवरले स्तरोन्नति गर्नुपर्ने छ । दुई लेनलाई चार लेनका राजमार्गमा विस्तार गरिनुपर्ने छ । एसियाली राजगमार्ग थाइल्यान्डको बैङ्ककबाट सुरु भई बर्मा (म्यानमार), बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्ग भएर वनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसै गरी दोस्रो रुट–२ अन्तर्गत भारतको रक्सौलबाट नेपालको वीरगन्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ । समग्र एसियामा जोडिन नेपालले राजमार्ग मापदण्ड र गुणस्तरमा वृद्धि गर्नुपर्ने चुनौती भने अझै कायमै देखिन्छ ।