• १४ फागुन २०८१, बुधबार

सार्वजनिक सेवाको मूल्य

blog

अचेल सार्वजनिक प्रशासन आलोचनाको केन्द्रमा छ । दिनहुँ जसो एलोन मस्क र डोनाल्ड ट्रम्पले कर्मचारीतन्त्रलाई आलोचना गरिरहेका छन् । मानौँ कर्मचारीतन्त्रलाई खत्तम गर्न सकियो भने सबै समस्याको स्थायी समाधान हुन्छ । यो विचार प्रत्यक्ष र परोक्ष रूपमा अन्य मुलुकमा फैलिँदो छ, सामाजिक सञ्जाल र मञ्चहरूमा उछालिएका छन् । यसले सार्वजनिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । यसको अन्तर्यमा दुई तथ्य छिपेर रहेका छन् । पहिलो, राष्ट्रिय विकासको भूमिका पूरा गरी नागरिक गर्व कायम गर्न नसक्ने राजनीतिज्ञभित्र मनोवैज्ञानिक तुष्टि पूरा गर्न आफ्नो अभेद्य सहयोगीप्रति आरोप लगाउने प्रवृत्ति र दोस्रो स्वयम् प्रशासनका कार्यव्यवहारमा देखिएको कमजोरी । यस अर्थमा विश्वव्यापी रूपमा सार्वजनिक प्रशासनमाथि लागेको आरोपले कर्मचारीतन्त्रलाई आफू सुध्रिने, निर्धारित मूल्य आचरण अवलम्बन गरेर झनै प्रिय बन्ने अवसर पनि प्राप्त भएको छ । किनकि सार्वजनिक प्रशासन राज्यबाट अलग गर्न, अलग हुन सक्ने विषय नै होइन । त्यसैले असल राजनेताहरू सार्वजनिक प्रशासन सुधार गरेर, कर्मचारीतन्त्रको मनोबल बढाएर राज्यको प्रभावकारिता बढाउछन् र आफैँ प्रिय बन्छन् । कर्मचारीतन्त्रले पनि आफ्नो कार्यव्यवहारलाई सुधार गरेर आफ्नो औचित्य पुष्टि गर्न सक्छन् । कर्मको आचरण अवलम्बन नगरे उनीहरू कर्मचारी बन्न सक्दैनन् । कर्मचारीले माया पाउन वा आलोचना पाउने आधार कर्मभन्दा अरू हुन सक्दैन । 

सार्वजनिक प्रशासनलाई मूल्यमा आधरित बनाउन सेवासम्बन्धी कानुनमा मूल्यको घोषणा गरेर त्यसप्रतिको प्रतिबद्धता सुनिश्चित गरिन्छ । सेवा मूल्य त्यस प्रकारको विश्वास र आन्तरिक मान्यता (इन्ट्रिन्जिक वर्थ) हुन्, जसलाई सम्झौता गरेर कार्यसम्पादन गर्न सकिँदैन । त्यो सङ्गठन वा राष्ट्रिय मूल्यसँग यसरी गासिएको हुन्छ कि त्यसलाई नमान्नु भनेको पेसागत मान्यताबाटै च्युत हुनु हो । मूल्य कुनै मूर्त कुरा होइन, जसलाई सहजै ठम्याउन सकियोस, यो त पदाधिकारीको व्यवहार, आचरण र उपलब्धिबाट सर्वसाधारणले अनुभूत गर्ने कुरा हो । मूल्यले कार्य तथा निर्णयलाई आधार दिन्छ, कार्यसंस्कृतिलाई मार्गदर्शन गर्छ । मूल्यले पदाधिकारीलाई आफ्नो जिम्मेवारीप्रति उत्साह, जाँगर, विश्वास, निष्पक्षतासहितको आत्मानुशासनमा क्रियाशील बनाई सङ्गठन, राष्ट्र र जनताप्रति समर्पित गराउँछ । 

सबै प्रकारका सङ्गठनले मूल्यको घोषणा गर्ने चलन बढ्दै छ । जस्तो कि लोक सेवा आयोगले निष्पक्षता, वैधता र वस्तुपरकतालाई आफ्नो मूल्य मानेको छ । म्याक डोनल्ड खाद्य सञ्जालले आफ्नो मूल्यलाई गुणस्तर, ग्राहक सेवा, शीघ्रता र स्वच्छता भनी मूल्य घोषणा गरेको छ । सार्वजनिक सेवामा मूल्यको विशेष महत्व हुन्छ । निजामती सेवा र प्रजातन्त्रको जननी मुलुक बेलायतले निजामती सेवाको आविष्कारका समयमा यसको मूल्य घोषणा गरेको छ । उसका अनुसार पवित्रता, स्वयम् उत्साह, सत्याङ्कन, प्रमाणमा आधारित, अवसरप्रति सचेत, जोखिमप्रति सावधान र सेवाप्रति निष्ठावान रहनु निजामती सेवाको मूल्य हो । यस शताब्दीमा उम्दा सार्वजनिक प्रशासन भएको न्युजिल्यान्डले निष्पक्ष रहनु, जवाफदेही हुनु, विश्वासिलो बन्नु, आदरभाव राख्नु र जिम्मेवारी लिनुलाई सार्वजनिक सेवाका मूल्यका रूपमा घोषणा गरेको छ । विकासित देशको सङ्गठन ओइसिडीले निष्पक्षता, कार्यकुशलता, कानुनीपन, समानता, सदाचार, जिम्मेवारी, पारदर्शिता र न्यायलाई सार्वजनिक सेवाका मूल्य मानेको छ । सुशासनमा अव्बल मानिएको क्यानडाले सार्वजनिक जिम्मेवारी लिने कर्मचारीले चार कुरालाई मूल्यका रूपमा अवलम्बन गर्न प्रतिबद्ध हुनुपर्ने कानुनमा उल्लेख गरेको छ । पहिलो, लोकतान्त्रिक मूल्य (सार्वजनिक हित गर्न मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता), दोस्रो व्यावसायिक मूल्य (नागरिकलाई कार्यकुशल, निष्पक्ष, उत्कृष्ट र वस्तुपरक ढङ्गले सेवा दिने प्रतिबद्धता), तेस्रो, नैतिक मूल्य (नागरिकको भावना जित्ने गरी सधैँ निष्ठामा रहेर काम गर्ने प्रतिबद्धता) र चौथो, जनताको मूल्य (सेवाग्राहीमा विनम्र, शिष्ट, आदरपूर्वक र निष्पक्ष व्यावहार गर्ने प्रतिबद्धता) । सेवा प्रवेश गर्नुअघि नै शपथका रूपमा मूल्यप्रति प्रतिबद्ध रहने घोषणाले सार्वजनिक सेवा मूल्यमा आधारित हुन्छ भन्ने विश्वास लिइन्छ ।

सार्वजनिक सेवाका मूल्य सरल, सान्दर्भिक र व्यावहारिक हुनु पर्छ । नेपालको सार्वजनिक प्रशासनमा सेवा मूल्य घोषणा गर्ने चलन छैन । आचरण र अनुशासनका प्रावधानबाट अन्तर्राष्ट्रिय प्रचलनमा रहेका मूल्यका भावनालाई सीमित रूपमा लिने प्रयास गरिएको छ । सङ्घीय संसद्मा विचाराधीन निजामती सेवा विधेयकमा निजामती सेवाका सिद्धान्तहरू प्रस्तावित छन् तर ती मूल्यको भावनालाई व्यापकता दिन छैनन् । पहिला मूल्यको घोषणा, त्यसपछि सोको विस्तृतीकरण स्वरूप सिद्धान्त र यिनलाई कार्यरूप दिन आचरण र अनुशासनका व्यवस्थाहरू सिलसिलाबद्ध सम्बद्धमा गर्नु पर्छ । अहिले सङ्घीय निजामती सेवा ऐन संसदीय छलफलको क्रममा छ । संसदीय समितिले विधेयकलाई पूर्णता दिन र सार्वजनिक प्रशासनको मार्गदर्शक सिद्धान्तका रूपमा सार्वजनिक सेवाका मूल्यलाई घोषणा गर्न आवश्यक छ ।

सार्वजनिक सेवाका आधार मूल्यमा सदाचारिता, निष्पक्षता, सेवाप्रति समर्पणभाव, समानुभूति, सहनशीलता, निष्ठा (अनुराग) र व्यावसायिकतालाई लिइनु उपयुक्त हुन्छ । सेवाग्राहीप्रति आदर, इमानदारी, विश्वसनीय र खुला व्यवहार साथ सार्वजनिक स्रोतसाधनमा लालच नराख्नुलाई यस अन्तर्गत समेट्नु पर्छ । सदाचारीहरू सार्वजनिक जिम्मेवारी लिनुअघि निजी स्वार्थ र लोभलाई छाडेर सेवाप्रति समर्पित रहेर सदाचारित प्रदर्शन गर्छन् । कुनै विचार, सम्बन्ध, सिद्धान्त, स्तर वा ओहोदालगायत कुनै पनि कुराबाट प्रभावित नभई सबैलाई समान व्यवहार गर्नु निष्पक्ष बन्नु हो । निष्पक्षताले जुनसुकै राजनीतिक सिद्धान्तप्रति झुकाव राख्ने कर्मचारी भए पनि उनीहरूबाट सरकारका निर्णयहरू तदारुकता साथ कार्यान्वयन हुन्छ भन्ने राजनीतिक विश्वास, जुनसुकै दल सरकारमा आए पनि आफूले प्राप्त गर्ने सुविधा कटौती नहुने तथा पदोन्नति र वृत्ति विकास निश्चित आधारमा हुन्छ भन्ने कर्मचारीको विश्वास र जुनसुकै विचार राख्ने दल सत्तामा पुगे पनि र जोसुकै कर्मचारी भए पनि आफूले प्राप्त गर्ने सेवामा फरक पर्दैन भन्ने जनविश्वास सिर्जना सुनिश्चित गर्छ । 

कर्मचारीको कामप्रतिको भावनात्मक संलग्नता प्रतिबद्धता वा समर्पणभाव हो । यसले कर्मचारीको भावना र सङ्गठनको लक्ष्यलाई मनोवैज्ञानिक रूपमा जोडी प्रशासनलाई जनमुखी बनाउँछ । समर्पण वा प्रतिबद्धताका लागि काममा कर्मचारीको सक्रिय संलग्नता, त्यसो गर्ने क्षमता र चाख, विश्वास, सहयोग र उपलब्धिको सुनिश्चितता चाहिन्छ । कर्मचारी सेवा प्रवाहमा सेवाग्राहीको दृष्टिकोण र अनुभूतिमा पुग्नु समानुभूति हो । समानुभूतिमा अरूले के भनिरहेका छन्, कस्तो अनुभूति गरिरहेका छन्, समस्यालाई कसरी बुझिरहेका छन्, कति राम्रो वा नराम्रो मानिरहेका छन् भन्ने सहज बोध हुन्छ । यसका पनि तीन पक्ष छन् । पहिलो अरूको आवेगलाई सम्बोधन गर्ने क्षमता वा आवेगात्मक समानुभूति, दोस्रो सेवाग्राहीको अनुभूतिको समानतामा रहनु वा अनुभूतिजन्य समानुभूति र तेस्रो परिस्थितिप्रति सेवाग्राहीले कसरी प्रतिक्रिया दिइरहेका छन्, सोको समान बोध । जस्तो कि चिकित्सकले बिमारी भएर, शिक्षकले विद्यार्थी र अभिभावक भएर, प्रहरीले पीडित भएर सोच्ने, बुझ्ने, व्यवहार गर्ने सामथ्र्य हुनु समानुभूति मूल्य हो । सार्वजनिक सेवा प्रवाहमा यो मूल्य निकै महत्वपूर्ण छ । 

सहनशीलता वा संयमताले सेवाग्राहीको सन्तुष्टिका लागि उसको अवस्था, अनुभूति र व्यवहारप्रति नमन गर्ने, स्वीकार्ने बानीलाई जनाउँछ । सहनशील हुनु भनेको मानवीय हुनु, हार्दिक हुनु, अरूलाई खुसी बनाउनु वा अरूको विविधिता बोध गरी सोप्रति सम्मान गर्नु हो । अनुराग वा करुणाले सेवा व्यवस्थापनमा अरूको सुख दुःखमा निमग्न भई सहयोग गर्ने भावना वा अरूप्रति द्रवित हुने हार्दिकतालाई जनाउँछ । साथीत्व, मायालुपन, कोमलता, उदारता, परोपकारिता, ध्यानपूर्वक सुन्ने धैर्य जस्ता गुणले सेवाग्राहीमा अनुराग सिर्जना गर्छ । व्यावसायिकता चाँहि सार्वजनिक सेवाको मूल्य सिद्धान्त बुझ्ने र त्यसलाई कार्यव्यवहारमा आफ्नो क्षमता, सिप, ज्ञान र स्वभाव हो । त्यसैले व्यावसायिकता वा व्यावसायिक हुनु नै सार्वजनिक प्रशासनको नैतिकता हो । यी सात सेवाका आधारभूत मूल्य एकअर्कासँग परिपूरक पनि छन् । 

सार्वजनिक सेवाका आधार मूल्यलाई सङ्घीय निजामती सेवा ऐनमा समावेश गरी यसलाई संस्थागत गर्न शपथको व्यवस्था, स्वघोषणा एवं स्वपरिपालन र परीक्षण गरिएमा सार्वजनिक कार्यालयहरू सेवास्थल बन्ने छन् र सेवाग्राही र सेवाप्रदायकबिचको दुरी घट्ने छ । यसर्थ सङ्घीय निजामती सेवा ऐनलाई अन्तिम रूप दिँदा सेवा मूल्य जस्तो गहन कुरालाई घोषणा गरी यसैलाई संस्थागत गर्ने गरी अन्य प्रावधान राखिनु पर्छ । यसलाई कर्मचारी ऐनका रूपमा मात्र लिइनु हुँदैन, सेवा व्यवस्थापनका लागि कर्मचारी व्यवस्थापन गर्ने विस्तृत विधि बनाइनु पर्छ ।