• १४ फागुन २०८१, बुधबार

नुनको उपभोग घटाउन सुझाव

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १४ गते । नेपालीले आवश्यकताभन्दा बढी आयोडिनयुक्त नुन खाने प्रचलन घटाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । आवश्यकताभन्दा बढी आयोडिनयुक्त नुन उपभोगले नसर्ने रोगको जोखिम बढेकाले प्रतिव्यक्ति प्रतिदिन पाँच ग्राम मात्रै आयोडिनयुक्त नुन उपभोग गर्नु पर्छ भन्ने अभियान चलाउनुपर्ने पनि सरोकारवालाको जोड छ । आयोडिन महिनाका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले मङ्गलबार राजधानीमा आयोजना गरेको छलफलमा सहभागीले सो कुरामा जोड दिनुभएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बालपोषण शाखाका प्रमुख लीलाविक्रम थापाले नेपाली उपभोक्ताले आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन खाँदा नसर्ने रोगको प्रकोप बढेको पाइएको बताउनुभयो । उहाँले अब आवश्यक मात्रामा मात्रै आयोडिनयुक्त नुन उपभोग गर्नुपर्ने अभियान चलाउनु आवश्यक छ भन्नुभयो । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्ययन अनुसार नेपालमा आयोडिनयुक्त नुन उपभोग दैनिक नौदेखि १० ग्रामसम्म खाने गरेको पाइएको छ । जबकि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्छ । 

नेपालीले डब्लुएचओले तोकेको मापदण्डभन्दा दोब्बर आयोडिनयुक्त नुन खाने बानीले नसर्ने रोगको स्वास्थ्यमा समस्या बढेको दाबी थापाले गर्नुभयो । उहाँका अनुसार आयोडिनयुक्त नुनको बढी उपभोग गर्ने बानीले उच्च रक्तचाप, मधुमेह, थाइराइडलगायतका स्वास्थ्य समस्या आउँछन् । 

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका नायब महानिर्देशक शोभाकान्त रिजालले आयोडिन महिनाको अभियान अन्तर्गत गरिने कार्यक्रममा आवश्यकताभन्दा बढी नुन खाने नेपालीको बानीमा सुधार ल्याउने खालका सचेतना जगाउनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले डब्लुएचओ र अन्य देशका संस्थाले गरेका अध्ययनलाई आधार मानेर नुनको मात्रा तोकिनुभन्दा हाम्रै नागरिकमा गरेका अध्ययनका आधारमा मात्रा तोकिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले प्रत्येक दिन शरीरलाई चाहिने नुन कति हो भन्ने विषयमा स्वयम् उपभोक्ता नै सचेत हुनुपर्ने बताउनुभयो । 

विसं २०१० सम्म नेपालीमा गलगाँडको निकै ठुलो समस्या थियो । २०४१/४२ तिरको अध्ययनमा ४४.२ प्रतिशत नेपालीमा यो रोग रहेको देखिएको थियो । सरकारले २०३० सालतिरै नुनमा आयोडिन मिसाएर वितरण गर्न र २०४० सालतिर सुई र ट्याब्लेटको माध्यमबाट आयोडिन दिन थाल्यो । विसं २०३९/४० देखि साल्ट टे«डिङ कर्पाेरेसनले आयोडिनयुक्त नुनलाई ‘आयो नुन’ ब्रान्डमा प्याकेजिङ गरेर बिक्रीवितरण सुरु गरेको थियो । यी प्रयासस्वरूप २०६४ सालसम्म आइपुग्दा गलगाँडको समस्या हुनेको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ ।