कोकिला ढकाल
इलाम, फागुन १४ गते । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको स्थानीयले थाह पाएका थिए ।
आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ । यो समाचार तयार गर्दा रातको ११ ः ३० बजे सम्मपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि स्थानीय बासी र प्रहरीले प्रयास गरिरहेका छन् । इलाम नगरपालिकाबाट दमकल पुगेपनि भौतिक संरचना सबै क्षति भइसकेको स्थानीयबासी सटेन्द्र जबेगूले बताउनु भयो । जबेगूका अनुसार विद्युत् सर्ट भएर आगो शुरु भएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दश वर्ष यता सञ्चालन गर्दै आउनु भएको थियो । ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पल लगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको थियो । काठमाडौँमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित हुनुभएका शरदको यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो ।
इलाम नगरपालिका–४ स्थित जस्वीरे चिया कारखानामा भएको आगलागीबाट ध्वस्त रुप । तस्बिर ः कोकिला