• १३ फागुन २०८१, मङ्गलबार

मनाङमा कहिले आउला एम्बुलेन्स ?

blog

यदुप्रसाद भट्ट

मनाङ, फागुन १३ गते । मनाङमा एउटै पनि एम्बुलेन्स छैन भन्दा जोकोहीलाई पत्याउन गाह्रै पर्छ । पत्याउने पनि कसरी ? हरेक स्थानीय तहमा एम्बुलेन्स हुन्छ । दुर्गमका कतिपय पालिकाको वडावडामा हिजोआज एम्बुलेन्स सञ्चालनमा छ । 

तर चार वटा स्थानीय तह रहेको सिङ्गो जिल्ला मनाङमा भने एउटै एम्बुलेन्स छैन । जोकोही बिरामी परे भने आपत्कालीन अवस्थामा अन्य विकल्प खोज्नुपर्ने हुन्छ । बाटोघाटो नभएर पनि होइन । नार्पाभूमि गाउँपालिका बाहेक अरू तीन गाउँपालिकाको कार्यालयसम्म मोटरबाटो पुगेको छ ।

स्थानीयहरू बिरामी पर्दा विभिन्न विकल्पहरू अपनाउँछन् । धनीमानीहरू हेलिकोप्टर प्रयोग गर्छन् । तर चक्रीय अन्नपूर्ण पदमार्गमा पुग्ने पर्यटकहरू बिरामी परे भने उनीहरूले चर्को मुल्य तिरेर हेलिकोप्टर प्रयोग गर्नुपर्ने बाध्यता छँदैछ ।

गत हप्ता प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनाङमा जसरी भए पनि एउटा एम्बुलेन्स पठाइदिन आग्रह गर्नुभयो । उहाँले जनस्वास्थ्य आपत्कालको पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले पोखरामा आयोजित कार्यक्रममा वार्षिक रुपमा ३० हजार विदेशी र दुई लाखको सङ्ख्यामा स्वदेशी पर्यटक मनाङ पुग्ने गर्दछन्, तर जिल्लामा एउटा पनि एम्बुलेन्स छैन, विपद्मा परेका स्थानीय र पर्यटकको उद्धार कसरी गर्ने भनी दु:ख पोख्नुभयो ।

‘‘मनाङमा निजी जिप भाडामा लिएर विपद्मा परेकाको उद्धार गरी स्वास्थ्य केन्द्रमा पुर्‍याउनुपर्ने र कतिपय ठाउँमा त हेलिकोप्टर नै मगाउनुपर्ने बाध्यता छ’’, उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य मन्त्रालयले जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्‍यो ।’’ 

त्यसो त मनाङमा एम्बुलेन्स नै नभएको भने होइन । नासोँ गाउँपालिका–९ का भूतपूर्व वडाध्यक्ष पासाङ लामाले दान दिनुभएको एउटा एम्बुलेन्स सञ्चालनमा आइरहेको नासोँ गाउँपालिकाका उपाध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले सोही एम्बुलेन्सलाई कार्यविधि बनाएर सञ्चालन गरिरहेको दाबी गर्नुभयो । दानस्वरुप प्राप्त एम्बुलेन्स पनि सञ्चालन खर्चका लागि घाटा नै भएको तर नाफा नभएको उहाँले बताउनुभयो । 

‘‘सबै मनाङभरिका लागि एउटै मात्र सञ्चालनमा रहेको एम्बुलेन्स यही नै हो,’ उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘चालक पाल्नै पर्‍यो, पोखरा, काठमाडौं, भरतपुर, बेँसीसहर सबै ठाउँको भाडादर तोकिएको छ, त्यसबाट तेल खर्च उठाउन पनि गाह्रो हुन्छ ।’’

म्नाङ ङिस्याङ गाउँपालिकाको केन्द्रसम्मै मोटरबाटो पुगेको छ । चामे गाउँपालिका मनाङको मुटु नै हो जुन जिल्ला सदरमुकाममा नै अवस्थित छ । नासोँ गाउँपालिका मनाङको प्रवेशद्वार नै भइहाल्यो । यीमध्ये चामे र मनाङ ङिस्याङ गाउँपालिकामा भएका एम्बुलेन्स चार वर्षदेखि सञ्चालनमा आएका छैनन् ।

त्यसै बिग्रिएर थोत्रिएर बसेका छन् । मर्मतसम्भार पनि भएन । नार्पाभूमि गाउँपालिकासम्म पुग्ने मोटरबाटो नै छैन । बिनाबाटो एम्बुलेन्स हुने पनि कुरै भएन । त्यसो त सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मनाङ अस्पतालमा पनि एम्बुलेन्स छैन । अरूको के कुरा गर्ने ।

त्यसै गरी गण्डकी प्रदेश सभाका सांसद मुनिन्द्रजङ्ग गुरुङले मनाङमा एम्बुलेन्सका लागि लबिङ गरिरहेका बताउनुभयो । उहाँले एम्बुलेन्स नहुँदा धेरै नै असजिलो भएको बताउनुभयो । बूढाबूढी, केटाकेटी, बिरामी, महिला, बालबालिका, अशक्त आदिका लागि धेरै समस्या परेको बताउनुभयो । उहाँले विभिन्न निकायमा हारगुहार गरिरहेको र धर्खरै मात्र निर्माण सुरु भएको मर्स्याङ्दी हाइड्रोपावरले केही गर्ने वचन दिएको उल्लेख गर्नुभयो ।

यी सांसद, उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको यो पुकार कसैले सुने भने मनाङीका लागि खुसीको खबर हुनेछ । तर हालसम्म उनीहरूको माग सम्बोधन हुनेमा आशा भरोसा गर्ने ठाउँ भने कतै देखिएको छैन ।